काठमाडौं, २० भदौ । नेपाल–चीन सम्बन्ध अझै उचाइमा जानुपर्ने धारणा चिनियाँ अधिकारीहरूले राखेका छन् । चीनको अत्यन्तै मत्वपूर्ण र महत्वाकाङ्क्षी परियोजना वान बेल्ट वान रोड ९ओबोर०मा नेपालले सहभागिता जनाएकामा प्रसन्न चिनियाँ अधिकारी यस दिशामा नेपालबाट चाहिँदो चासो र शीघ्र सक्रियता नदेखाइएकामा भने अन्योलमा परेका छन् ।
अल चाइना जर्नलिस्ट एसोसिएसन (एसीजेए) को निमन्त्रणामा चीन पुगेको नेपाली पत्रकार प्रमण्डलसँग गत साता अन्तरक्रिया गर्दै चिनियाँ अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन् । चिनियाँ विदेश मन्त्रालयको थिङ्कट्याङ्क चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिज (सीआईआईएस) का वरिष्ठ अनुसन्धाता प्राध्यापक जिआङ युइचुनले हजारौँ वर्ष अघिदेखि रहँदै आएको नेपाल–चीन सम्बन्धलाई ‘ओबोर’ परियोजनाले निकै माथि उठाउने धारणा व्यक्त गरेका छन ।
‘वास्तवमा चीनको यो प्रस्ताव साझा विकास गर्ने उद्देश्यले थालिएको हो । यसलाई अग्रसारिता दिने, नदिने पक्ष नेपालमै रहेको छ,’ उनले भने । ‘ओबोरले चीनलाई सडक, रेल्वे र जलमार्गबाट दक्षिण एसिया, मध्य एसिया, युरोप र अफ्रिकासम्म जोड्छ र यो दीर्घकालीन योजना हो, साझा भविष्य निर्माणका लागि चिनियाँ प्रयास हो,’ विज्ञ जिआङको भनाइ छ ।
चीन वरिपरिका सबै देशसित सहयोग र साझा विकास गरेर शान्तिपूर्ण विकासका माध्यमबाट अघि बढ्न लागेको दाबी गर्दै सबैको आर्थिक, व्यापारिक, सामाजिक आदि विकास हुने भएकाले नै धेरै देशले यस प्रस्तावलाई समर्थन जनाइसकेको र बाँकी देशले पनि समर्थन जनाउँदै जाने अपेक्षा उनले राखेका छन । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्