चितवन, २२ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा हुने दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न स्थानीय समुदायसँगको सहकार्य अभियान उपलब्धिमूलक देखिएको छ । निकुञ्जको सुरक्षार्थ खटिएका सेना तथा निकुञ्ज पदाधिकारीहरूले आसपासका क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न स्थानीयवासीलाई नै परिचालन गरेपछि चोरी सिकार नियन्त्रण कार्य उपलब्धिमूलक भएको हो ।
पूर्वमा मकवानपुर–पर्सा र पश्चिममा नवलपरासीसम्म फैलिएको चितवन राष्ट्रिय निकुञ्जमा विशेषगरी दुर्लभ जन्तु गैँडा र बाघको चोरी सिकार बढेपछि यसको नियन्त्रणका लागि निकुञ्ज आसपासका समुदायसँग सहकार्य अभियान सञ्चालन गरिएको हो ।
राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको बटुक दल गणका निमित्त गणपति पुरुषोत्तम कार्कीले चोरी सिकार नियन्त्रणमा समुदायसँगको सहकार्य सफल भएको बताए । चोरी सिकार नियन्त्रण गर्न सेनाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), वन विभाग, निकुञ्ज संरक्षण कार्यालयका अतिरिक्त स्थानीय युवा तथा समुदायलाई सहयोगीका रूपमा परिचालन गर्ने गरेको जानकारी उनले दिए ।
विगतमा पनि गणले स्थानीय युवा, शिक्षक–शिक्षिका, विद्यार्थी, कृषक लगायतलाई जनप्रतिनिधि, शिक्षित व्यक्ति र जनप्रतिनिधिहरूलाई आफ्नै किसिमले वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न सक्रिय बनाउँदै आएको थियो । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्