सर्लाही, २३ भदौ । प्रदेश २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै यहाँका घरघरमा चुनाव लागेको छ । उम्मेदवार र अगुवा कार्यकर्ता जित सुनिश्चित गर्न घरदैलोमा व्यस्त छन् । मतदाता आकर्षित गर्ने होड सुरु भएको छ ।
यस्ता कार्यक्रममा महिलाको उपस्थिति भने शून्यप्राय देखिन्छ । ‘‘यहाँका महिला प्रचारमा हिंडैनन्,’ टाउकामा घाँस बोकेर घर फर्किरहेकी हरिपुर २ पिडारीकी नगिनादेवी चौधरीले भनिन्, ‘श्रीमान् हिजो (बुधबार)० जानुभो, हामी त कहिल्यै जाँदैनौं ।’
उनका पति बुधबार उम्मेदवारी मनोनयन र्यालीमा सहभागी बनेका थिए । परिवारका पुरुष सदस्य आफूले समर्थन गरेको दलका लागि भोट माग्न जाने गर्छन् । महिलालाई भने चुलोचौको र मेलापातमै फुर्सद छैन । उनीहरूलाई त्यस्ता कार्यक्रममा सहभागी गराइँदैन ।
परिवारले खुलेर हिंड्न प्रोत्साहित नगरेपछि उनीहरू घरव्यवहारमा सीमित बन्छन् । ‘कसैले जाऔं भने पो जानु,’ हरिपुर ४ की बच्चियादेवी रायले भनिन्, ‘हाम्रो खोजी नै गरिंदैन ।’ गाउँघरमा झन्डा बोकेर पुरुष हिंडेको देख्दा उनलाई रमाइलो लाग्छ । तर कसैले वास्ता नगरेको उनको गुनासो छ । पुरुष भोट माग्न जाँदा महिलालाई कामको बोझ थपिने गरेको छ ।
‘अहिले उम्मेदवार बनेका महिला मात्रै कार्यक्रममा जान्छन्,’ स्थानीय प्रभु रायले भनिन्, ‘हाम्रो काम बालबच्चा, वस्तुभाउ हेर्न हो ।’ बिहीबार जिल्लामा निर्वाचन प्रचारका कार्यक्रममा पुरुष मात्र सहभागी थिए ।
अधिकांश व्यक्ति मोटरसाइकल र गाडीमा झन्डा राखेर घुमिरहेका देखिन्थे । चौतारा, चियापसल र बजारमा पनि पुरुषकै संख्या धेरै थियो । महिला धान गोड्न, घाँस काट्न, घरायसी काम र गोठालामा व्यस्त थिए । ‘हामी प्रचारमा जाँदैनौं,’ घाँस काटेर फर्किरहेकी मलंगवा १२ की राजवली मण्डलले भनिन्, ‘घरमूलीले जे चिह्नमा भन्यो, त्यसमै भोट हाल्ने हो । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्