Banner News

सप्तरीमा माओवादी केन्द्र छाड्नेहरु लर्को



काठमाडौ,२३ भदौ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको तेस्रो चरणअन्तर्गत २ नम्बर प्रदेशमा हुन लागिरहेको निर्वाचनका लागि अचेल सोही प्रदेशमै व्यस्त देखिएका छन् । एमाले र कांग्रेसजस्ता ठूला राजनीतिक दलका अध्यक्ष÷सभापतिको सो प्रदेशको निर्वाचनकै लागि दौडधुप नभए पनि दाहाल भने पटकपटक मधेस झरिरहेका छन् । र, चुनावको पूर्वसन्ध्यामा दाहालले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत पनि गरिरहेका छन् ।

तर, एकातिर माओवादी केन्द्रमा अरु दलका नेता, कार्यकर्तालाई भित्र्याए पनि माओवादी छाड्नेहरुको लर्को पनि उत्तिकै लागेको छ । चरम गुटबन्दीले पार्टी थिल्थिलो भएको जनाउँदै स्थानीय तहको तेस्रो चरणअन्तर्गत २ नम्बर प्रदेशमा चुनाव नजिकिँदै जाँदा माओवादी केन्द्र छाड्नेहरु बढेका छन् । चुनावमा टिकट नपाएपछि असन्तुष्ट भएकाहरुले पार्टी फेरबदल गर्ने क्रमसँगै सप्तरीमा माओवादी केन्द्र छाड्नेहरु बढेका हुन् ।

केही दिनअघि मात्रै सप्तरीको अग्निसाइ र कृष्णा सवरण गाउँपालिकाका अध्यक्षका उम्मेदवारलगायतले माओवादी केन्द्र परित्याग गरेका छन् । अध्यक्षका आकांक्षी रघुकुमार सिंह र अशोककुमार चौधरीले माओवादी परित्यागका घोषणा गरेका हुन् । त्यस्तै सोही दलका जिल्ला सदस्यहरु सरयुग मण्डल, रामदेव शर्मा, उचितनारायण चौधरी, घुर्नीदेवी खड्ग, हरिलाल चौधरी, बुधनप्रसाद चौधरी, जोखन चौधरीलगायत दर्जनौंले माओवादी त्यागेको घोषणा गरेका थिए ।

त्यसो त, चुनावमा टिकट नपाएपछि आकांक्षीहरुले दल बदलेर अर्कै दलबाट टिकट लिने क्रम २ नम्बर प्रदेशको चुनावमा व्यापक रुपमा देखिएको छ । सर्लाहीलगायत जिल्लामा राजपाले टिकट नदिएपछि एमाले, माओवादी केन्द्रमा प्रवेश गरेर सोही दलबाट टिकट लिनेहरु धेरै निस्किएका थिए । वीरगञ्ज महानगरपालिकामा राजपाले टिकट नदिएको हुँदा सो नगरका चर्चित व्यक्ति विमल श्रीवास्तव त लोकतान्त्रिक फोरममा प्रवेश गरेर टिकट लिई चुनावी मैदानमै उभिएका छन् ।