Banner News

देउवा र प्रचण्ड भारतसामु लम्पसार : नेपाल



बर्दिवास,२५ भदौ  । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतसामू लम्पसार परेको आरोप लगाउनु भएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालले महोत्तरीको बर्दिवासमा आयोजना गरेको साक्षात्कारमा नेता नेपालले यस्तो आरोप लगाउनु भएको हो । उहाँले भन्नुभयो, ‘देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका छन्, यो कुरा सारा नेपाली जनताहरुलाई राम्रोसँग थाहा छ ।’
नेता नेपालले आफ्नो पार्टी सङ्घीयता पक्षधर भएको बताउँदै भन्नुभयो, ‘हामी सङ्घीयता पक्षधर हौँ, हाम्रो पार्टी कुनै पनि हालतमा मधेस विरोधी होइन, हेर्दै जानुहोला २ नम्बर प्रदेशमा एमाले एक नम्बर पार्टी बन्छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले मधेसमा एमालेलाई निषेध गर्न कोही अहिलेसम्म नजन्मेको समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै शक्तिले वा तागतले पनि मधेसमा एमालेलाई निषेध गर्न सक्दैन, र जन्मिएको छैन । म नै हुँ मधेसका असली धर्तीपुत्र, मधेसको विकास र समृद्धिको लागि एमालेले जति अरू कुनै पार्टीले काम गरेको भए हामीलाई देखाईदिए हुन्छ ।’
२ नम्बर प्रदेशको चुनाव जितेपछि प्रदेशमा पनि एमाले नै सरकार बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘२ नम्बर प्रदेशको चुनावमा एमालेले बाजी मार्छ, एमाले पहिलो पार्टी बन्छ, बन्छ, बन्छ, यसमा कुनै दुईमत छैन ।’
नेता नेपालले केही मधेसी नेताहरूले विदेशीको प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको समेत आरोप लगाउनु भयो ।

उत्तर कोरियाको भ्रमणबारे प्रकाश पार्दै उहाँले भन्नुभयो, ‘पार्टीलाई निमन्त्रणा आएको हाईन, माधव नेपाललाई आएको हो, त्यसैले म गएको हुँ ।’ आफू शान्ति, समन्वय र सद्भाव फैलाउन उत्तर कोरिया गएको उहाँको भनाई छ ।