काठमाडौं, २९ भदौ । राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापामगरले लामो दौडधुप र संघर्षपछि बुधबार नागरिकता पाएका छन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता सुशीलले नागरिकता पाउन नसकेको विषयमा गत चैत १५ गते समाचार प्रकाशित भएपछि सुरु भएको उनको दौडधुपले बुधबार पूर्णता पाएको हो ।
काठमाडौंको नक्सालमा बस्दै आएका सुशीलले आमाबुवा दुवैको नामबाट वंशजको नागरिकता पाएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले व्यक्तिगत जमानी बसेर सुशीललाई नागरिकता दिलाएका हुन् ।
यसअघि नेपाल बक्सिङ संघ, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघ, राखेप, युवा तथा खेलकुद मन्त्रालय र गृह मन्त्रालयले नागरिकताका लागि सिफारिस गर्दा पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रक्रिया नपुगेको भन्दै सुशीललाई नागरिकता दिन आनाकानी गर्दै आएको थियो।
बुधबार सदस्यसचिव विष्टको व्यक्तिगत जमानीमा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय खेलाडी सुशीललाई नागरिकताको प्रमाणपत्र प्रदान गरे। गृह मन्त्रालय, खेलकुद मन्त्रालय, राखेपलगायतको सिफारिसका आधारमा विशेष निर्णय गरेर सुशीललाई नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । ‘
गृह मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायत विभिन्न निकायको सिफारिसका आधारमा विशेष निर्णय गरेर सुशीललाई नागरिकता दिइएको हो’, घिमिरेले भने । राखेपका सदस्यसचिव विष्टले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालगायत थुप्रै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेको र पर्याप्त सम्भावना बोकेको खेलाडी भएकाले व्यक्तिगत जमानी बसेर सुशीललाई नागरिकता दिलाएको बताए।
‘सुशील थापामगर सातौं राष्ट्रिय प्रतियोगितालगायत थुप्रै प्रतियोगितामा स्वर्ण पदक विजेता र मुलुकका लागि पर्याप्त सम्भावना बोकेका खेलाडी हुन् । आगामी १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक भित्र्याउने उद्देश्यले पनि अहिले हामी उनलाई तयार पारिरहेका छौं तर, नागरिकता नहुँदा वैदेशिक प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउन पाएका थिएनौं’, सदस्यसचिव विष्टले भने, ‘विगत ६ महिनादेखि नागरिकताका लागि विभिन्न निकायबाट पहल हुँदै आएको थियो, आज म आफैं व्यक्तिगत जमानी बसेर नागरिकता दिलाएको छु।’
आफ्नो तौलसमूहका राष्ट्रिय च्याम्पियन खेलाडी सुशीलले नागरिकता पाएपछि अर्को स्वर्ण पदक जितेको अनुभव गरेको प्रतिक्रिया दिए।
‘धेरै प्रयास गर्दा पनि नागरिकता पाउन नसक्दा ‘डिप्रेसनजस्तो भइसकेको थियो, मेरो आत्मविश्वास पनि गुम्दै गएको थियो’, नागरिकताको प्रमाणपत्र लिएपछि निकै खुसी देखिएका सुशीलले जिल्ला प्रशासन कार्यालयमा भने, ‘सबैको साथ, सहयोग र सद्भावले गर्दा नागरिकता पाएँ। नागरिकता हातमा परेपछि फेरि अर्को गोल्ड मेडल जितेको महसुस गरेको छु।’ उनले आगामी दिनमा आफ्ना लागिभन्दा पनि राष्ट्रका लागि केही गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्