विश्व

उत्तर कोरियाले जापानतर्फ हान्यो शक्तिशाली मिसाइल



एजेन्सी, ३० भदौ । उत्तर कोरियाले आफ्नो राजधानी प्योङ्गयाङ्गबाट पूर्वी दिशामा जापानतर्फ फेरि एउटा शक्तिशाली मिसाइल प्रहार गरेको छ। दक्षिण कोरिया र जापान सरकारले ने यसको पुष्टि गरेका छन् । दक्षिण कोरियाली सेनाका अनुसार यो मिसाइल करिब ७०० किलोमिटरको उचाईसम्म पुग्दै यसले करिब ३७०० किलोमिटरको यात्रा तय गरेको छ।

समाचार एजेन्सी रोयटर्सले जापानकोे एनएचके टीभीको हवाला दिँदै बताए अनुसार यो मिसाइल स्थानीय समय अनुसार बिहान ६:५७ बजे हानिएको हो । यो मिसाइल बिहान ७:०६ बजे जापानको होकाइडो द्वीपमाथिबाट गएको थियो ।

जापानले त्यहाँका जनतालाई शरण दिन भनेको छ । दक्षिण कोरिया र अमेरिका यस मिसाइल लन्चपछिको अवस्थाबारे अध्ययन गरिरहेका छन् । दक्षिण कोरियाली राष्ट्रपतिले राष्ट्रिय सुरक्षा परिषदको एक आपातकालिन बोलाएका छन् । रोयटर्सका अनुसार, दक्षिण कोरियाली सेनाले पनि मिसाइल हानेको पुष्टि गरेको छ ।

उत्तर कोरियाले एक दिनअघि संयुक्त राष्ट्रमा उत्तर कोरियामाथि नयाँ नाकाबन्दी लगाउने प्रस्तावको समर्थन गरेकोमा जापानलाई डुबाउने तथा अमेरिकालाई खरानी बनाएर अँधेरोमा बदलिदने धम्की दिएको थियो ।

अघिल्लो महिना पनि उत्तर कोरियाले जापमनमाथिबाट एक मिसाइल हानेको थियो । जसलाई जापानले आफ्ना लागि अभूतपूर्व खतरा भनेको थियो । अहिले छाडिएको मिसाइल त्यो भन्दा धेरै शक्तिशाली रहेको बिबिसीले जनाएको छ ।