काठमाडौं, २ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२औँ महासभामा भाग लिन असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ ।
प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र सङ्घका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । ‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवननिम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल १९ सेप्टेम्बरदेखि सुरु हुँदैछ ।
महासभाको दौरान न्युयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।
सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले सेप्टेम्बर २२ मा इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले त्यहाँका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई निर्देशनसमेत दिनाका साथै २२ सेप्टेम्बरमा न्यूयोर्क्स्थित राष्ट्रसङ्घ स्थायी नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने स्वागत समारोहमा प्रमुख आतिथ्य ग्रहण गर्नुहुनेछ ।
त्यसैगरी उहाँ न्युयोर्क्स्थित नेपालका महावाणिज्यदूतले २३ सेप्टेम्बरमा नेपालको संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्नुहुनेछ, त्यहाँ उहाँले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणबारे निर्देशन दिनुहुने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुनेछ । गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्