सम्पादकीय

ल्यारकाल लामा चोख्खिए, ९ करोड वैध सम्पत्ति



काठमाडौं, २० असोज । सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा परेका सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएका छन् ।

अदालतले उनलाई सफाई त दियो नै, साथै आम्दानीको तुलनामा खर्च कम भएको भन्दै उनको ७४ लाख रुपैंया बचत हुनुपर्ने फैसला समेत गर्यो ।

करिब एक दशकपछि दोस्रो तहका राजनीतिक नेतामाथि गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा हात हालेको अख्तियारको अनुसन्धान न्यायिक परीक्षणमा असफल भएको हो । सबैभन्दा ठूलो बिगोको गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा अख्तियार असफल भएपछि लामा रजनीतिक जीवनमा फर्किसकेका छन् ।

अख्तियारको आरोपपत्र र विशेष अदालतको फैसला हेर्दा तथ्यांक विश्लेषणमा साढे १० करोड रुपैंयाको फरक देखिएको छ । विवादास्पद प्रमुख लोकमानसिंह कार्कीको पालामा लामामाथि मुद्दा दायर भएको थियो ।

माओवादी केन्द्रका सांसद लामाले ९ करोड ४४ लाख रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोगमा अख्तियारले २०७२ कार्तिक ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २०५८ देखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानविन गरेको थियो ।

त्यस क्रममा २० करोड ३४ लाख रुपैयाँ बैध रुपमा आर्जन गरेर २९ करोड ७९ लाख खर्च गरेको अख्तियारको दाबी थियो । आर्जनको तुलनामा खर्च बढी भएको ९ करोड ४४ लाख रुपैंयालाई गैरकानूनी आर्जन भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले तयार पारेको फैसलाको पूर्णपाठले अख्तियारको आरोपपत्रलाई अस्विकारमात्रै गरेको छैन, लामाको सम्पत्ति उल्टै बचत हुने भनी तथ्यांक विश्लेषणसमेत गरिएको छ ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई र सदस्यहरु प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलामा सार्वजनिक पदमा रहँदा लामाले आम्दानीको तुलनामा कम खर्च गरी ७४ लाख ३४ हजार रुपैंया बचत गरेको उल्लेख छ । २९ करोड ९ लाख रुपैंया बैध आम्दानी गरेका लामाले २८ करोड ३५ लाख रुपैंया खर्च गरेको विशेष अदालतको ठहर । कान्तिपुरमा समाचार छ ।