सम्पादकीय

मूर्ति बनाएर भारतबाट चाँदी तस्करी



 

मोरङ, २२ असोज । मूर्ति र पूजामा प्रयोग हुने विभिन्न सामग्री बनाएर भारतबाट नेपालतर्फ चाँदी तस्करी हुने गरेको खुलेको छ । चाँदीबाट मूर्ति, चम्चा, आचमनी, पञ्चपात्रो, छत्री, माछा र विभिन्न गरगहना बनाएर भारतबाट तयारी सामान तस्करी हुने गरेको हो ।

नेपालबाट भारततर्फ चाँदी तस्करी हुने र त्यही चाँदीबाट विभिन्न सामग्री बनाई फेरि नेपालतर्फ नै अवैध ढंगले पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले यसलाई चाँदीको ‘दोहोरो तस्करी’ भनेको छ ।

इलाका प्रहरी कार्यालय रानी र सीमा प्रहरी चौकीको संयुक्त टोलीले भारत जोगबनी–१ का १९ वर्षीय दीपककुमार साहलाई विराटनगर–१५ हुलासमेटलबाट चाँदीबाट बनेका विभिन्न सामग्रीसहित शुक्रबार साँझ पक्राउ गरेको छ ।

प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी अभियुक्त साहलाई विराटनगरमा सार्वजनिक गरेको छ । साह पक्राउ परेसँगै भारतबाट नेपालतर्फ चाँदी तस्करी गर्ने नयाँ शैली पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए ।

‘अवैध रूपमा नेपाल भित्रिने चाँदी भारततर्फ तस्करी हुने गरेको छ’, एसपी बीसीले भने, ‘त्यसलाई भारत पु¥याएर विभिन्न आकार दिँदै सामग्री तयार पारी फेरि नेपालतर्फ नै तस्करी गर्ने गरेको पाइएको छ ।’

चाँदीका मूर्ति र विभिन्न सामग्री शरीरमा कपडाले बाँधेर ल्याउँदै गरेको अवस्थामा साह पक्राउ परेका थिए । बीसीका अनुसार अभियुक्तको साथबाट दुई किलो एक सय ६२ ग्राम चाँदीबाट निर्मित सामग्री बरामद भएको छ ।

प्रहरीले गणेशका मूर्ति नौ, लक्ष्मीका मूर्ति आठ, चम्चा २२, आचमनी १०, पञ्चपात्रो नौ, छत्री २९ र माछा ६ थान बरामद गरेको हो । ती सामग्री एक लाख ३० हजार चार सय २० रुपैयाँबराबरको रहेको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।