काठमाडौं, २२ असोज । चुनावी तालमेलसहित एकता प्रक्रियामा जुटेका एमाले र माओवादी केन्द्रले बामपन्थी गठबन्धनबाट नअत्तालिन र चुनाव प्रभावित हुने गतिविधि नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् ।
कांग्रेसले लोकतन्त्र नै खतरामा परेको र मुलुकमा अधिनायकवादी व्यवस्था ल्याउने प्रयासको रुपमा बामपन्थी गठबन्धनप्रति टिप्पणी गरेपछि दुबै दलले उसलाई जवाफ दिएका हुन् । एमाले र माओवादी केन्द्र दुबैको शनिबार बसेको छुट्टाछुट्टै बैठकमा कांग्रेसले गरेको टिप्पणीमाथि समिक्षा भएका थिए ।
गठबन्धन बनाउने सहमतिपछिको अवस्थाबारे समिक्षा गर्न शनिबार एमाले स्थायी समिति र माओवादी केन्द्रको संसदीय दल एवं पोलिट व्यूरोका बैठक बसेका थिए ।
एमाले बैठकले कांग्रेसबाट आएको टिप्पणी उत्तेजक र अराजनीतिक खालको भएको भन्दै यही बहानामा चुनाव प्रभावित हुने खालका गतिविधि नगर्न चेतावनी दिएको छ ।
‘काग्रेस अत्तालिएको जस्तो गरेर अनुचित टिप्पणी गरिरहेको छ’ बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले भने,‘लोकतन्त्र नै खतरामा र्पयो भन्ने ढंगको टिप्पणी गर्नु आपत्तिजनक छ र यही बहानामा चुनावलाई अन्योल पार्ने खालका गतिविधि नहोस् भन्ने हाम्रो बैठकको निष्कर्ष छ ।’
विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने र त्यही बाटोमा जाने प्रयासस्वरुप एकता प्रक्रियामा अघि बढेको उल्लेख गर्दै एमालेले यसलाई अनिष्ठको संकेतको रुपमा टिप्पणी गर्नु हतास मानसिकताको उपज भएको ठहर गरेको छ ।
माओवादीको संसदीय दल र पोलिटब्यूरो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेसबाट आएको टिप्पणीप्रति आपत्ति जनाउँदै गठबन्धन कसैका विरुद्ध नभएको बताए ।
‘हाम्रो समिकरण कसैका विरुद्ध होइन, बैचारिक रुपमा एउटै धारमा रहेका दल मिल्दा नै मुलुकको हित हुन्छ’ अध्यक्ष दाहालले पोलिटब्यूरो बैठकमा भने,‘एमाले–माओवादी एकताले तत्काल न त साम्यवादी व्यवस्था आउने हो न अधिनायकवादी व्यवस्था नै ।’
शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाबाटै अघि बढ्ने उल्लेख गर्दै दाहालले यसमा कुनै भ्रम नराख्न आग्रह गरे । बामपन्थी गठबन्धनप्रति आलोचनात्मक टिप्पणी गरेकाले काँग्रेसबाट चुनाव प्रभावित पार्ने गतिविधि हुने हो कि भन्ने आशंका माओवादी बैठकमा नेताहरुले व्यक्त गरेका थिए ।
संसदीय दल र पोलिटब्यूरो दुबै बैठकमा अध्यक्ष दाहालले सरकारलाई दिएको समर्थन कायमै राख्ने जानकारी आफूले प्रधानमन्त्रीले दिएको उल्लेख गर्दै यसभन्दा अन्यथा ढंगबाट अघि नबढ्न चेतावनी दिएका थिए । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्