सम्पादकीय

दुवै निर्वाचन सुनिश्चित छः यादव



काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने सुनिश्चित भएकाले त्यसमा कुनै आशङ्का नगर्न र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन सबै मतदातालाई आग्रह गरेको छ ।

‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन’को तयारीका विषयमा जानकारी गराउन बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले भन्नुभयो, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाबाट पूर्ण सहयोग हुनेछ भन्ने विश्वास आयोगले लिएको छ ।’

मतपत्रका बारेमा सर्वोच्च अदालतबाट बुधबार नै भएको आदेशबाट निर्वाचनलाई असर पर्छ कि भनी पत्रकारले राखेको जिज्ञासामा प्रमुख आयुक्त डा। यादवले भन्नुभयो, ‘अदालतबाट भएको फैसलाको औपचारिक जानकारी प्राप्त छैन । सञ्चारमाध्यमबाट आएका समाचारअनुसार अदालतको फैसलाबाट निर्वाचनको मिति र व्यवस्थापनमा कुनै असर पुग्नेछैन ।’

आयोगले निर्णय गरेअनुसार समानुपातिक तथा पहिलो हुने निर्वा्चित हुने तर्फको मतपत्र एउटै पानाको माथिल्लो भाग मतपत्र–१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि र त्यसको तल्लो भागमा मतपत्र–२ प्रदेशसभा सदस्य निर्वाचनका लागि हुने व्यवस्था गरिएको छ । आयोगले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा कात्तिक ५ गते पहिलो हुने निर्वा्चित हुने प्रणालीतर्फ उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रममा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा सहभागी हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई हार्दिक आह्वान गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि २०७४ कात्तिक ५ गते आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकार प्रयोग गर्नुहुनेछ । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको जानकारी पनि आयोगले दिएको छ ।

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिनेछ भने पहिलो हुने निर्वा्चित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रङको मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको डा। यादवले बताउनुभयो । समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा बुधबारसम्म ९० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ भन्दै उहाँले सम्पूर्ण मतपत्र कात्तिक ७ गतेसम्म छापिसक्ने कार्यक्रम रहेको बताउनुभयो ।

राजनीतिक दलहरूले समानुपातिक तर्फको उम्मेदवारहरूको बन्दसूची ठूलो उत्साहका साथ बुझाएबाट आगामी निर्वाचन व्यापक सहभागिता तथा उत्साहका साथ सम्पन्न हुने सुनिश्चित भएको बताउँदै उहाँले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन हार्दिक अपिल गर्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर १० गते आइतबार र मङ्सिर २१ गते बिहीबार हुँदैछ । उक्त निर्वाचनका लागि आयोगले १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरिसकेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा सात प्रदेशका समानुपातिकतर्फ २२० पदका लागि उम्मेदवारको बन्दसूची बुझाउँदा दलहरूले समानुपातिक तथा समावेशी सिद्धान्तलाई पालना गरेको आयोगले जनाएको छ ।

नेपालको राजनीतिक इतिहासमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन एकैपटक हुन लागेको यो पहिलोपटक हो । निर्वाचन सम्पन्न गराउन आयोगले यसअघि व्यवस्थापन गरिएका मतपेटिकाबाट नै निर्वाचन गराउने तयारी गरेको छ भने विभिन्न प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन प्रक्रियालाई अगाडि बढाइसकेको जनाइएको छ ।

मतदाता नामावली ऐन २०७३ अनुसार मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य भएको हुँदा नयाँ थपिएका मतदाताका लागि परिचयपत्र छपाइ गरी वितरण गरिने आयोगले जनाएको छ । एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ताको हिसाबले करिब २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने जनाउँदै आयोगले मतदाता शिक्षाका क्रममा यसपटक बढीभन्दा बढी नमुना मतदान गराउने आयोगको नीति रहेको छ । मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीको उत्पादन गर्ने कार्य सुरु भइसकेको र नेपालमा बोलिने राष्ट्रभाषाहरूमध्ये विभिन्न १६ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयारी गर्न आयोगले प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आयोगले अन्तर्रा्ष्ट्रिय सङ्घ, संस्था र व्यक्तिलाई आवेदन मागेकोमा बुधबारसम्म चारवटा अन्तर्रा्ष्ट्रिय सङ्घसंस्थाबाट सहभागिताका लागि आवेदन प्राप्त भएको छ भने दुई अन्तर्रा्ष्ट्रिय व्यक्तिबाट पर्यवेक्षणका लागि आवेदन प्राप्त भएको आयोगले जनाएको छ । गोरखापत्रमा समाचार छ ।