काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनमा गोरखा–२ निक्कै चर्चामा छ । एक समय माओवादीका समान पदमा रहेका डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको तिव्र स्पर्धा हुने भएकाले पनि चर्चामा रहेको हो । उम्मेदवारी मनोनयन दर्ता गरेको भोलीपल्ट सोमबारै दुवैले एक अर्काको खुलेर आलोचना गरे ।
बाबुरामले बाम गठबन्धन कमजोर हुनुका साथै आफ्नो बाटो लाग्ने बताए भने नारायणकाजीले बाबुराम समृद्धिका साधक नहुने टिप्पणी गरे । तर, यी दुवैले आफू प्रतिशोधको भुङ्ग्रोमा परेको भने हेक्का राखेका छैनन् ।
यो भिडन्तले प्रतिनिधि सभामा बाबुराम र नारायणकाजी मध्ये एकलाई मात्र सुरक्षित गर्नेछ । तर, यो भिडन्तमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो जीत हुनेछ । पराजय र विजय दुवैमा प्रचण्डको प्रतिशोध साँचिनेछ ।
राजनीतिको दशकपुरूष बन्ने क्रममा रहेका प्रचण्डले यहि दशकभित्रको प्रतिशोध बाबुराम र नारायणकाजीलाई भिडाएर लिँदैछन् । यसको सुरूवात उनले वामपन्थी गठजोडमा रहँदा बाबुरामको दाबीलाई स्वीकार नगर्ने अडानले मात्र पार लगाएका छैनन् ।
यो अडानमा एमाले अध्यक्ष केपी ओलीलाई समेत उभ्याउन सक्षम भएका प्रचण्डले बाबुरामलाई केन्द्रिय राजनीतिबाट पाखा लगाउने कामको पहिलो चरण त पार गरेका छन् । तर, दोस्रो चरणमा नारायणकाजीको राजनीतिक जीवनलाई पनि चुनौतिको भुङ्ग्रोमा राख्न सफल भए । पहिलो चरणको संविधानसभा चुनावमा सर्वाधिक मत ल्याएका बाबुरामको गृहनगरमा नारायणकाजीलाई उभ्याउनु नै एउटा भयङ्कर चुनौति हो ।
कुनैबेला प्रचण्डबिरूद्ध गठजोड बनाएर पार्टीमा उनलाई कमजोर पार्नका लागि संगठित भएका बाबुराम र नारायणकाजीलाई एउटै क्षेत्रमा भिडाएर प्रचण्डले राजनीतिक प्रतिशोधलाई पूरा गरेका हुन् । प्रचण्डबिरूद्ध ५ वर्षअघि गठबन्धन गर्ने दुई मध्ये एकजनाको पराजय निश्चित हुनेछ । ‘जसले जीतेपनि यसमा प्रचण्डको जीत देखिरहेको छु । यी दुवैले प्रचण्डलाई माओवादीमा घेराबन्दि गर्नका लागि धोवीघाट वैठकको नेतृत्व गरेका थिए ।’, स्रोतले भन्यो,‘त्यसका अर्का पात्र मोहन वैद्य राजनीतिबाटै समाप्त हुनेगरी प्रचण्डले बादललगायतले पार्टीमा भित्राए । उता, त्यसमा सहभागी भएका बादललाई पनि जिम्मेबारीविहीन बनाएर पार्टीमा राखेका छन् ।’
विराटनगर सम्मेलनमा प्रचण्डबिरूद्ध नेतृत्वको दाबी गरेपछि बाबुरामलाई केन्द्रिय राजनीतिबाट पाखा लगाउनैपर्ने अडानमा प्रचण्ड देखिएका थिए । संविधान जारी भएपछि बाबुरामले माओवादी छाडेपछि प्रचण्डको प्रतिपक्षका रूपमा पार्टीभित्र नारायणकाजी उभिएका थिए ।
बाम गठजोड बन्ने निधो भएपछि त्यसको सहयोगमा गोरखामा आफूलाई उभ्याउन सक्ने ठानेर वामपन्थी कित्तामा जोडिन पुगेका बाबुरामलाई उक्त क्षेत्र दिन नसकिने माओवादी अडानपछि उनी गठबन्धनबाट बाहिरिए । तर, १० मंसिरमा बाबुराम पनि असामान्य सहयोगसँगै भिडन्तका लागि तयार भएका छन् । गोरखा कांग्रेसको सहयोगमा उनी निर्वाचन मैदानमा उत्रिए । माओवादी संगठन बलियो रहेको गोरखा–२ मा बाबुरामका पकेटका मत पनि बलियो रहेको र कांग्रेस पनि स्पर्धी भएका कारणले यो भिडन्त निक्कै रोचक हुने देखिएको छ ।
वाम गठबन्धनमा बाबुराम नअट्नुको अन्तर्कथा
वामपन्थी गठबन्धन बन्ने निश्चित भइसकेको अवस्था थियो । सोही समयमा माओवादी केन्द्रले गोरखामा कसलाई उठाउँदैछ भन्ने चियोका लागि बाबुरामले प्रचण्डलाई फोन गरेका थिए । प्रचण्डले फोनमा बाबुरामलाई एमालेसँग एकीकरणको तहसम्म जाने कुरामा बहस भइरहेको बताएपछि बाबुरामले अत्तालिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरी सहभागी हुने बताए । ओलीले ठिकै छ आउनुहोस् भनेर बाबुरामलाई बोलाएका थिए ।
हतारमा वामपन्थी एकीकरणमा बाबुरामको पनि सहभागीता भयो । तर त्यसअघि निर्वाचनमा कसरी जाने भन्ने टुङ्गो लागिसकेको थिएन । एकीकरण घोषणाको साँझ बाबुरामले गोरखा–२ आफूलाई सघाउनका लागि ओली र प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, प्रचण्डले १ नम्बरमा जानका लागि भन्दै २ नम्बर माओवादीको राम्रो संगठन रहेका कारण आफूले नै लिने दाबी गरे । यही विषयमा विवाद भएपछि ओलीलाई सोध्नू भनेर बाबुरामलाई प्रचण्डले सुझाए ।
ओलीले माओवादीसँग धेरै ठाउँमा तालमेल हुने भएकाले उसको सुझावअनुसार अघि बढ्न बाबुरामलाई भनेका थिए । गोरखा–२ नीजि क्षेत्र भएका कारणले बाबुरामले दाबी छाडेनन् । १५ सीट माग गरेका बाबुराम १० सीटमा सीमित हुन तयार भए तर गोरखा–२ नछाड्ने अडानमा आए । बाबुरामको उक्त प्रस्ताव पनि प्रचण्डले नमान्ने भएपछि उनको बहिर्गमन भएको स्रोतहरूको दाबी छ । जनप्रहार साप्ताहिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्