Banner News

प्रचण्ड–ओलीको एउटै बोलीः निर्वाचन सार्न, टार्न र विथोल्न पाइँदैन



काठमाडौ,९ कार्तिक। नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने कुरा कुनै हालतमा नस्वीकार्ने बताएका छन् ।

राजधानीको नयाँबानेश्वरस्थित अल्फा हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा वाम गठबन्धनका दुवै नेताले निर्वाचन सार्ने कुरा कुनै हालतमा नस्वीकार्ने बताएका हुन् ।

‘मनोनयन दर्ता भएर उम्मेदवार जनताबीचमा गइसकको छन् । माघ ७ गतेभित्र सबै काम सकेर संविधान कार्यान्वयन गर्नुपर्छ,’ दुई नेताले निकालेको चार बुँदे विज्ञप्तीमा भनिएको छ, ‘मंसिरमा हुने निर्वाचनलाई सार्ने, टार्ने र विथोल्ने काम नेपाली जनताको हितविपरित हुन्छ ।’

दुई दलका नेताले जारी गरेको विज्ञप्तीमा अहिले बनाइएको मतपत्रले मतदाताको मौलिक हक नखोसिने पनि जिकिर गरेका छन् ।

‘निर्वाचनबारे कहीँ कतैबाट भ्रम पारिनु हुन्न । प्रतिनिधिसभा र प्रदेशसभामा प्रयोग हुने मतपत्रबारे अनावाश्यक विवाद नझिकियोस’, विज्ञप्तीमा भनिएको छ, ‘सर्वोच्चबाट जारी आदेशप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अहिलेको मतपत्रले मतदाताको मौलिक अधिकार खोसिँदैन । अधिकार उपभोग गर्न कुनै असर गर्दैन । दल छान्न मतपत्रले असर गर्दैन । त्यसैले कुनै पनि बहानमा निर्वाचन सार्ने कुरा स्वीकार्दैनौँ ।’
जनता समाचारबाट