शैक्षिक

कांग्रेसलाई वाम गठबन्धनको डर



डडेल्धुरा २१ कार्तीक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको सरगर्मी बढेसँगै डडेल्धुराका हरेक चोकचोकमा चुनावी परिणामको जोडघटाउ सुरु भएको छ । प्रतिनिधिसभामा एक सिट मात्र भएको प्रदेश ७ को केन्द्रबिन्दु मानिने डडेल्धुरामा एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धनसँग कांग्रेस डराइरहेको छ । वाम गठबन्धन भने कांग्रेससँत होइन, आफूभित्र हुन सक्ने सम्भावित ‘आन्तरिक घात’ सित डराइरहेको नेताहरू बताउँछन् ।

स्थानीय निर्वाचनका बेला तीन पार्टी छुट्टा छुट्टै चुनाव लडेकाले ७ मध्ये ४ स्थानीय तहमा चुनाव जितेको नेपाली कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा निकै उत्साहित थियो । डडेल्धुरा २०१५ देखि नै नेपाली कांग्रेसको परम्परागत गढ मानिन्छ । २०५४ को स्थानीय निर्वाचनमा बहुमत ल्याएको एमालेसँग तत्कालीन राप्रपा र एमालेबीच गठबन्धन हुँदा जिल्ला विकास समितिमा प्रभुत्व कायम गर्न नसकेको नेपाली कांग्रेस डडेल्धुराले गत असारमा सम्पन्न स्थानीय निर्वाचनमा आन्तरिक गुटबन्दी र टिकट वितरणमा भएको मनोमानीका कारण अपेक्षित विजय हासिल गर्न सकेन ।

जब एमाले र माओवादी केन्द्रबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावका लागि गठबन्धन बन्यो, नेपाली कांग्रेस डडेल्धुराभित्र देखिएको मतमतान्तर एकाएक सेलायो । पार्टी एकताबद्ध भएपछि नेपाली कांग्रेस डडेल्धुराभित्र पुरानै उत्साह केही सेलाएको छ ।

जिल्लामा हालसम्मका हरेक चुनावमा बहुमतसहित पहिलो पार्टी बन्ने सोभाग्य पाएको कांग्रेसले पछिल्लो स्थानीय निर्वाचनका बेला ल्याएको कुल मत एमाले र माओवादी दुवैले ल्याएको भन्दा कम छ । डडेल्धुरामा नेपाली कांग्रेस पहिलो र दोस्रो संविधानसभा चुनावमा विजयी मात्र भएको छैन, २०४८ देखि हालसम्मका हरेक निर्वाचनमा विजय हासिल गर्दै आएको छ । लामो समयदेखि जिल्लामा गुट उपगुट र मतभिन्नतामा रहेको नेपाली कांग्रेस डडेल्धुराले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन बनेपछि एकताबद्ध हुनुको कुनै विकल्प नरहेको नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिका सदस्य मानबहादुर बुढा बताउँछन् ।

‘मिलेर निर्वाचनमा लड्दै वाम गठबन्धनलाई चुनौती दिने बाध्यता आसन्न निर्वाचनमा छ,’ उनले भने, ‘तर अझै पनि पुरानै ढर्राबाट गुट उपगुटको राजनीति र एक अर्कालाई सिध्याउने खेल खेल्ने हो भने डडेल्धुरामा कांग्रेस पराजित मात्र हुनेछैन, पार्टी र संगठन पनि धरासायी हुने निश्चित छ ।’

नेपाली कांग्रेस डडेल्धुराले अगामी २१ मंसिरमा दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा विजय हासिल गर्न एकताबद्ध भएर चुनावमा जानुको विकल्प नभएको राजनीतिक विश्लेषक हरिप्रसाद जोशी बताउँछन् । नेपाली कांग्रेस डडेल्धुराका सभापति युवा नेता कर्णबहादुर मल्ललाई कारबाही हुने हल्लाबीच नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिको बैठकले पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक अन्य उम्मेदवारको टुंगो लगाउन सकेको थिएन ।

उम्मेदवार टुंगो लगाउन पार्टीको जिल्ला कार्यसमितिले बोलाएको बैठकमा असन्तुष्ट पक्षका नेता कार्यकता सहभागी भएका थिएनन् भने असन्तुष्ट पक्षका नेताले छुट्टै बैठकको आयोजना गरेर उम्मेदवारहरूको नाम सिफारिस गरेका थिए । संस्थापन र असन्तुष्ट दुवै पक्षबाट नाम सिफारिस भएका उम्मेदवारलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ ।राजधानी मा समाचार छ ।