Banner News

एमाले अध्यक्ष भन्नुहुन्छ :‘बूढी औंलो लुकाएर बसेको कांग्रेसलाई घिसारेर संविधानमा सही गराएका हौं’



काठमाडौं, १२ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट संविधान जारी गर्न कांग्रेस नेतृत्वलाई आफूहरुले घिसारेर ल्याएको खुलासा गर्नुभएको छ । काठमाडौंको नयाँ बानेश्वरमा वाम गठबन्धनको चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै ओलीले आफूहरु नपुगेका ठाउँमा कांग्रेस नेताहरु गएर हामीले संविधान ल्यायौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै ओलीले संविधान जारी गरेका बेलाको कांग्रेसको ब्यवहार साम्झिन आग्रह गर्नुभयो ।

‘त्यस्तै उस्तै ठाउँमा पुगेपछि कांग्रेसका नेताहरु संविधानका जनक हौं भनेजसरी प्रचार गर्दा रहेछन्’ ओलीले भन्नुभयो, ‘तपाईंहरुले विर्सनु भएको छैन, संविधान जारी गर्न कांग्रेसलाई हामीले घिसारेर ल्याउनु परेको थियो । कताबाट के निर्देशन आउँथ्यो, कांग्रेस औंठा लुकाएर भाग्थ्यो ।’

ओलीले अहिले देशले कता जाने भन्ने फैसला जनतासँग खोजिरहेको वताउँदै कांग्रेसको नेतृत्वमा देशले समृद्धि पाउन नसक्ने वताउनुभयो । ‘देशले यतिबेला फैसला खोजेको छ, अव देशलाई कता लैजाने रु’ ओलीले भन्नुभयो, ‘लामो समयसम्म देशले गतिलो नेतृत्व पाएन । होला होला जस्तो हुन्छ नागपासको खेलजस्तो माथि पुगेपछि तल झर्छ । कहिले तानाशाही फर्कियो कहिले अस्थिरता आयो ।’ ओलीले कांग्रेससँग बहुमत भएकै बेला ०७ सालमा आएको उपलब्धी १७ साल र ०४७ सालमा आएको उपलब्धी ५९ सालमा खेर गएको उदाहरण दिंदै अव कम्युनिस्ट पार्टी बलियो भएकाले उपलब्धी खेर नजाने वताउनुभयो ।

उहाँले कुनै बेला बीपी र गणेशमानले बनाएको ऐतिहासिक पार्टी नेपाली कांग्रेस अव भर पर्न नसकिने र अविश्वसनीय अवस्थामा पुगेको वताउनुभयो । ‘बीपीले दुःख गरेर बनाउनु भएको गणेशमानजीले परिश्रम गरेर बनाउनु भएको पार्टी अहिले भर पर्नै नसकिने, विश्वास गर्नै नसकिने अवस्थामा पुगेको छ’ ओलीले भन्नुभयो, ‘कहिले पहाड र तराई अलग गर्नुपर्छ भन्छ, कहिले बहुराष्ट्रियता भन्नेसँग साँठगाँठ गर्छ । देशलाई माया गर्दैन, सानो स्वार्थ पूरा गर्न जे पनि गर्छ ।’

ओलीले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जीवनको उत्तरार्धमा कांग्रेस काम नलाग्ने भनेर घोषणा नै गरेको उदाहरण दिंदै कांग्रेसमा ५० वर्ष विताएका योद्धाहरु अहिले एमालेमा प्रवेश गर्न थालेको वताउनुभयो । ‘गणेशमानजीले रुँदै आफूले बनाएको कांग्रेस छोड्नु भयो, बीपी हुनु भएको भए अहिलेको कांग्रेसमा बस्नुहुन्नथ्यो । अस्ती चितवनमा ५० वर्ष कांग्रेसमा विताउनु भएको त्रिलोचन पौडेल लोकतन्त्रको रक्षा गर्न एमालेमा प्रवेश गर्नुभयो’ ओलीले भन्नुभयो, ‘अहिले केही साथीहरु बीपी कांग्रेस बनाएर हिंड्नु भएको छ । अव कुनै पार्टी बनाउनु पर्दैन, आउनुस् एमालेमा, मिलेर देश बनाउँ ।’

कांग्रेस आफ्नो नीतिबाट च्यूत भएको भन्दै ओलीले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सबै कांग्रेसले छोडिसकेको वताउनुभयो । ‘नाकाबन्दीले ग्यास नपाएर घरमा चुल्हो निभेको छ, कांग्रेस नेता उता राष्ट्रसंघमा गएर नाकाबन्दी छैन भन्छन्, कहाँ छ कांग्रेससँग राष्ट्रियता रु’ ओलीको प्रश्न थियो, ‘अव उम्मेदवार राम्रो भनेर कसैलाई भोट दिन सकिंदैन, कुन पार्टीको भन्ने विचार गरेर दिनुपर्छ ।’

आफूले सरकारको नेतृत्व गर्दा एक वर्षमा लोडसेडिङ हटाउनेगरी काम गरेको र एक वर्षभित्र लोडसेडिङ हटेको वताउँदै ओलीले अव अहिले घोषणा गरिएजस्तै मुलुकलाई समृद्धितर्फ अघि लगिने वताउनु भयो । उहाँले काठमाडौं क्षेत्र नम्बर १ का वाम उम्मेदवार अनिल शर्मालाई आफूले विश्वास गर्ने वताउँदै शर्माका योजना अनुरुप काठमाडौं १ मा नयाँ सरकारले विकास योजना लागू गर्ने वताउनुभयो ।