शैक्षिक

बीपीको क्षेत्रमा रोचक प्रतिस्पर्धा



सुनसरी १४ मंसिर । बीपी र गिरिजाप्रसाद कोइराला विजयी भएको सुनसरी क्षेत्र ४ मा चुनावी रौनक बढेको छ । कुनै बेला बीपीसँगै प्रतिस्पर्धा गरेका दिलप्रसाद श्रेष्ठका भतिजा रमेशले कांग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई चुनौती दिइरहेका छन् ।

विक्रम संवत् २०१५ को आम निर्वाचनमा कांग्रेस सभापति बीपीले त्यही क्षेत्रबाट जितेका थिए । उनलाई त्यतिबेला स्वतन्त्र उम्मेदवार दिलबहादुरले चुनौती दिएका थिए । हाल उनका भतिजा रमेश एमालेका तर्फबाट चुनावी मैदानमा ओर्लेर कार्कीलाई टक्कर दिइरहेका छन् । रमेश पञ्चायतकालीन गृहमन्त्री होमबहादुरका छोरा हुन् ।
उनले लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा बसेर राजनीति गरे । जिविस सुनसरीका पूर्व सभापति समेत रहेका रमेशको परिवारलाई सदरमुकाम इनरुवा बनाउने र सुनसरीलाई मोरङ र सप्तरीबाट छुट्टै जिल्ला कायम गराउने श्रेष्य जाने गरेको छ । २०५१ मा भएको मध्यावधि निर्वाचनमा यो क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाले जितेका थिए । ०५६ मा पुनस् कोइराला नै विजयी भए । २०६४ र २०७० का संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवले विजय हासिल गरे । २०६४ मा यादवसँग गिरिजापुत्री सुजाता पराजित भएकी थिइन् ।

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र सुजाता दुवैले छाडेको यो क्षेत्रमा यसअघि भोजपुरबाट निर्वाचन लडिरहेका कार्की उम्मेदवार बनेका छन् । कोइरालाको विरासत फर्काउन मैदानमा उत्रेका कार्कीलाई विरोधीहरूले ‘टुरिस्ट उम्मेदवार’ को संज्ञा दिए पनि उनी प्रकाशपुरमा

आफ्नो पुख्र्यौली जमिन रहेकाले सुनसरीकै भएको दाबी गर्छन् । ‘म यही ठाउँको बासिन्दा हो, मलाई यहाँका मतदाताप्रति विश्वास छ,’ उनले मधुवनमा कान्तिपुरसँग भने ।

एमाले उम्मेदवार रमेश भने सुनसरी जिल्ला बनाएको श्रेय आफूलाई जाने दाबी गर्छन् । ‘म सबै मतदातासँग परिचित छु, त्यसैले मलाई जित्न गाह्रो छैन,’ उनले भने । उनले पहिले राप्रपाको उम्मेदवार भएर तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग चुनाव लडदा ७ हजार मत पाएकाले यसपटक विजय सहज भएको दाबी गरे । निर्वाचन क्षेत्रको पछिल्लो भौगोलिक विभाजनले सुनसरी क्षेत्र ४ कोसीको माथिल्लो भाग चुरेको फेददेखि तराईको नेपाल–भारत सीमासम्म नै फैलिएको छ । १ लाख ११ हजार मतदाता रहेको यो क्षेत्रमा २५ हजार मुस्लिम मतदाता छन् । जसमा झन्डै ३० हजार मधेसी र ३५ हजार पहाडी मूलका मतदाता छन् । वराह नगरपालिकाको ७, ८, ९, १० र ११, रामधुनी नगरपालिकाको वडा नम्बर ४, इनरुवा नगरपालिकाको ३, ४ र ८ नम्बर वडा यो क्षेत्रमा पर्छन् । भोक्राहा, कोसी र हरिनगरा गाउँपालिकासमेत यसै निर्वाचन क्षेत्रमा छन् ।

राजमार्ग उत्तरका मतदाता कोसीटप्पुका वन्यजन्तु नियन्त्रणको माग गरिरहेका छन् । कोसी कटानको क्षतिपूर्ति, सुकुम्बासी समस्या र सट्टाभर्नाको स्थायी समाधान उत्तरका मतदाताको सधैको माग हो । दक्षिणका बासिन्दा भने विकास र रोजगारी खोजिरहेका छन् । यसबाहेक कोसी नदीको त्रासलाई स्थायी समाधान गर्ने, विकासलाई प्राथमिकता दिने, निर्वाचन क्षेत्रको दक्षिण र उत्तरी क्षेत्रसम्मै कालोपत्रे सडक सञ्जाल लैजाने, स्वास्थ्य, शिक्षा र रोजगारीमा प्राथमिकता दिने नेता नै यस पटकको आम मतदाताको रोजाइमा पर्ने भुटाहाका मोजमिल अहमदले बताए ।

८० वर्षीय हाजी लतिफले बीपीको क्षेत्र भएर पनि विकासमा पछि परेकाले विकास र रोजगारी ल्याउने उम्मेदवारलाई नै जनताले भोट हाल्ने बताए । उनले २०१५ को निर्वाचनमा बीपीलाई भोट हालेका थिए । बीपीले विराटनगरपछि पहिलोपटक सुनसरीको भुटाहामै आएर कांग्रेसको संगठन विस्तार गरेका थिए । पार्टीमा प्रतिबन्ध हुँदा समेत उनले भुटाहामै भूमिगत जीवन बिताएको स्थानीय सम्झिन्छन् ।

सुनसरीको सदरमुकाम भुटाहालाई नै बनाउने योजनाअनुरूप विभिन्न सरकारी भवन निर्माण गरे पनि पछि दिलबहादुरले राजा महेन्द्रलाई नक्सा देखाएर उत्तर र दक्षिण दुवै क्षेत्रका जनताको पायक पर्ने इनरुवालाई सदरमुकाम घोषणा गराएका थिए । भुटाहावासीले सधैं कांग्रेसलाई साथ दिएको हाजी इन्द्रिस अन्सारीले बताए । ‘कांग्रेस बीपीको लाइनभन्दा बाहिर गयो, जसको कारण दक्षिणी क्षेत्रको विकास भएन,’ उनले भने ।कान्तीपुरमा समाचार छ ।