Banner News

अब ५० वर्ष कम्युनिस्टको सरकार : दाहाल



ललितपुर १७ मसीर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा अब ५० वर्ष कम्युनिस्ट सरकार रहने बताएका छन् । दोस्रो चरणको निर्वाचनलगत्तै दुई तिहाइसहित वाम गठबन्धनको सरकार बन्ने र पाँच वर्ष जनताको पक्षमा राम्रो काम गरेसँगै ५० वर्ष कम्युनिस्टको सरकार चलाउने योजना रहेको उनको भनाइ छ ।

‘पाँच वर्ष राम्रो काम गरेर सरकार चलाउँछौं । पाँच वर्ष राम्रो काम गरेपछि त हामीले भोट माग्न यस्तो दुःख नै गर्नुपर्दैन, यसो टेलिभिजनमा हाम्रा कुरा राखेकै भरमा जनताले कम्युनिस्टलाई ह्वारह्वार्ती भोट दिनेछन्,’ उनले भने, ‘पाँच वर्षको हाम्रो विकास र समृद्धिको पक्षमा गरिने कामकै आधारमा ५० वर्ष सरकार चलाउँछौं ।’

वाम गठबन्धनले काठमाडौंको जडीबुटी क्षेत्रमा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता तथा काठमाडौं–२ का वाम गठबन्धन उम्मेदवार माधवकुमार नेपाललगायत नेता–कार्यकर्ता ।

ललितपुर–३ स्थित सुनाकोठीमा शनिबार आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले गत १० मंसिरमा सम्पन्न ३२ जिल्लाको निर्वाचनमा दुई तिहाइ सिट संख्या जितिसकेको दाबीसमेत गरे । ‘एमाले अध्यक्ष केपी ओलीजी र म भर्खर मात्रै सँगै बस्यौं, हामीले यसो हिसाब गर्दा ३२ जिल्लामा दुई तिहाइ स्पष्ट रूपमा आइसक्यो । दोस्रो चरणका ४५ जिल्लामा पनि दुई तिहाइभन्दा बढी आउने हाम्रो आँकलन रह्यो,’ उनले भने । दाहालले ललितपुरका तीनै निर्वाचन क्षेत्र वाम गठबन्धको लालकिल्ला भएको दाबी गर्दै सबै वाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भइसकेको भन्दै बधाई र शुभकामनासमेत दिए ।

दाहालले अहिलेको चुनावी तालमेल चुनावका लागि मात्रै नभएर पार्टी एकता गर्ने संकल्पसहित भएको समेत जिकिर गरे । ‘यो तालमेल पहिले पार्टी एकता गर्ने संकल्प र सहमति भएपछि भएको हो,’ उनले भने, ‘त्यसैले चुनावपछि पार्टी एकता हुन्न कि भनेर कसैमा शंका भए त्यो गलत हो ।’ उनले पार्टी नेतृत्व एकताका लागि अघि बढिसकेको बताउँदै अब आफूहरू नफर्किने गरी अघि बढेको स्पष्ट पारे ।

दाहालले पार्टी एकताबाट पछि फर्किए आफूसहित एमाले अध्यक्ष केपी ओली, माधव नेपाल र नारायणकाजीको राजनीतिक भविष्य समाप्त हुनेसमेत उल्लेख गरे । एउटै घोषणापत्र बनाएर निर्वाचनमा होमिएकाले पनि अब दुई कम्युनिस्टबीच पार्टी एकता सहजै हुने उनको भनाइ थियो ।

चुनावी सभामा दाहाल नेपाली कांग्रेसप्रति आक्रामकसमेत बने । उनले फुटेका कम्युनिस्टहरू मिल्छौं भन्दा किन आतंकित बनेको भनेर प्रश्नसमेत गरे । वाम एकता हुँदा देशविकास भएको हेर्न चाहने कांग्रेसका केही नेतासमेत खुसी भएको दाबी गर्दै उनले कांग्रेसलाई पनि एकता गरेर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा बोल्दै ललितपुर–३ की वाम गठबन्धन उम्मेदवार पम्फा भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने, धुलोमुक्त ललितपुर बनाउने, पर्यटकीय चक्रपथ निर्माण गर्नेलगायत योजना रहेको र जनताले रुचाइसकेको बताइन् ।राजधानी बाट ।