Banner News

एमालेबाट समानुपातिमा सांसद बन्ने भाग्यमानी को –को



काठमाडौ,४ पुस । नेकपा एमालेमा समानुपातिकको सूचीमा रहेका महत्वपूर्ण नेताहरु नै आउट हुने भएका छन् । प्रत्यक्ष र समानुपातिकको कूल संख्या जोड्दा त्यसको ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनैपर्ने भएकाले सूचीको १० नम्बर भित्रै परेको पुरुष उम्मेदवार पनि आउट हुने भएको छन् । एमालेले प्रत्यक्षतर्फ ८० सिट जिते पनि जम्मा–जम्मी दुई जना मात्रै महिला सांसद बनेकाले समानुपातिकमा महिलालाई स्थान दिनुपर्ने अवस्था छ । समानुपातिकतर्फ एमालेले ४१ सिट पाउने देखिएको छ ।

३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनैपर्ने संवैधानिक बाध्यताका कारण उसले समानुपातिकतर्फ अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको हो । प्रत्यक्ष र समानुपातिक गरी कुल १ सय २१ सिट जितेको एमालेले ३९ जना महिलालाई समानुपातिकबाट सांसद बनाउनुपर्ने हुन्छ । दुई जना प्रत्यक्षमा जितिसकेकाले एमालेले अब ३७ जना महिलालाई समानुपातिकबाट ल्याउनुपर्छ ।

जम्मा चारजना पुरुष मध्ये तीन जना वाहेक अरु सबै आउन हुने देखिएको एमालेका एक नेताले जानकारी दिए । एमालेले समानुपातिकमा ४२ जनाको नाम सिफारिस गरेको छ । ४२ मध्य एमालेले ३७ जना महिला अनिवार्य प्रतिनिधित्व गराउनुपर्नेछ । अब एमालेले पेश गरेको समानुपाति सूचीको १ सय ५ नम्बरमा रहेको महिला पनि आउने देखिएको छ ।

अब एमालेले बुझाएको सूचीबाट प्रतिनिधिसभा सदस्य हुनेहरु दलले होइन, आयोगले छनौट गर्नेछ । सुरुमा महिला र पुरुषको हिसाव निकालेपछि ६ जातीय क्लस्टरहरु अनुसार विजेताहरु छनौट गरिनेछ ।

समानुपातिकमा दलहरुले उम्मेदवारी दिँदा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था छ । त्यसमा पनि महिलाभित्रैबाट मिलाइनेछ ।

संविधानले नै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । समानुपातिकमा कम्तिमा ५१ प्रतिशत महिला निर्वाचित गराउनु पर्ने अनिवार्य छ । प्रत्यक्षमा निकै कम महिला २ जना मात्रै निर्वाचित भएकाले बाँकी सबै परिपूर्ती प्रत्यक्षबाट गनुपर्नेछ ।

संविधान अनुसार प्रतिनिधिसभामा एक तिहाई अर्थात ९२ जना महिला अनिवार्य छ । खसआर्यको ३१ प्रतिशत हुनेछ । आदिवासी जनजातिको २९, मधेसीको १५, दलितको १४, थारुको ७ र मुस्लिमको ४ प्रतिशत हुनेछ ।

तीनजना पुरुष छनौट गर्दा सातवटै कल्स्टरको पहिलो नम्बरमा रहेका उम्मेदवार मध्येबाट छनौट हुनेछन् । जहाँ खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजाती कोटाको पहिलो नम्बरमा रहेका विजय सुब्बा, थारु कोटाको पहिलो नम्बरमा रहेका मझिलाल थारु, दलितको पहिलो नम्बरमा रहेका रामप्रित पासवान, मधेसी कोटाको पहिलो नम्बरमा रहेका मोतिलाल दुगड, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका समिम मियाँ अन्सारी र पीछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँ रहनुभएको छ । एमाले स्रोतका अनुसार न्यौपाने, सुब्बा, पासवान र दुगडमध्ये तीनजनालाई पार्टीले चयन गर्ने संभावना बढी छ ।

त्यस्तै ३८ जना महिलाको छनौट पनि यही सूत्रका आधारमा हुनेछ । जसअनुसार आदिवासी जनजातिबाट ११ जना महिला पठाउनुपर्छ । एमालेले बुझाएको बन्द सूचिको महिला क्रमसंख्या ११ सम्मका उम्मेदवार निर्वाचित गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले थममाया थापा मगर, डा। शिवमाया तुम्बाहाम्झे, सुजिता शाक्य, रामकुमार झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, विनादेवी बूढाथोकी मगर, रणकुमारी बलमपाकी मगर चुनिने छन् । सुजिता शाक्य एमाले सचिव शंखर पोखरेल र विना श्रेष्ठ नेता कृष्णगोपाल श्रेष्ठकी श्रीमती हुन ।

त्यस्तै खस आर्यबाट राधा ज्ञावली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मेनाकुमारी भण्डारी, तर्था गौतम र शर्मिला कार्की निर्वाचित हुनेछन् ।

त्यस्तै थारु कोटाबाट एमालेले दुईजना महिला निर्वाचित गर्नुपर्छ । महिलातर्फ पहिलो नम्बरमा रहेकी शान्ता चौधरी र दोस्रो नम्बरमा रहेकी लक्ष्मीकुमार चौधरीले मात्र सांसद बन्ने अवसर पाएका छन् ।

दलित कोटाबाट एमालेले पाँचजना महिला पठाउनुपर्छ । बन्द सूचिको क्रमसंख्या पाँचसम्म रहेका निरादेवी जैर, विमला विश्वकर्मा, विमला विक, पार्वतीकुमारी विसुङ्गे र सानु शिवाले सांसद बन्ने निश्चित भएको छ ।

एमालेले मधेसी कोटाबाट ६ जना महिला निर्वाचित गर्नुपर्छ । यो कोटाबाट जुलीकुमारी महतो, डा पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सिरताकुमारी गिरी र सीता यादव निर्वाचित गर्नुपर्छ ।