Banner News

शीतलहरले १४ जनाको मृत्यु



सप्तरी २३ पुस । अत्यधिक चिसोले सप्तरीमा १४ जनाको मृत्यु भएको छ । आइतबार कञ्चनरुप नगरपालिका– ७ का ६१ वर्षीय उत्तम मरिक डोम र वडा नंं २ का ५५ वर्षीय बेचन शेखको चिसोका कारण मृत्यु भएको हो ।

शनिबार एक काखे बालकसहित पाँच जनाको मृत्यु भएको थियो । शितलहरबाट प्रभावित भई निमोनिया लागेका कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी ललित चौधरीका ७ महिने छोरा गणेशलाई उपचारका लागि बिराटनगर लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

शनिवार मृत्यु हुनेमा खडग नगरपालिका ८ मुसहरनियाँका ६० वर्षीय मुसहरु चौधरी, डाँकनेश्वरी नगरपालिका ८ का ५५ वर्षीया झौली यादव, अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ का ६० वर्षीय लखन ठाकुर र तिलाठी कोईलाडी गाउँपालिका ७ का ३५ वर्षीय शिबु मण्डल छन् ।

यसअघि गत विहीबार र शुक्रबार मात्रै चार जनाको मृत्यु भएको थियोे । प्रहरीका अनुसार, महदेवा गाउँपालिका २ अकबरपुरका ५८ वर्षीय सुकदेव यादवको शुक्रवार बिहान घर नजिकैको नहर किनारमा शौच गर्ने क्रममा कठयाग्रिएर मृत्यु भएको थियो ।

विहीबार राजविराज नगरपालिका १० झल्हीकी ६५ वर्षिया कैलीदेवी खंग र राजविराज नगरपालिका २ की ६० वर्षिया नाजो बेगमको शितलहरकै कारण मृत्यु भएको वडा अध्यक्ष अरुण यादवले जानकारी दिए । शुक्रवार नै तिलाठी कोइलाडी गाउँपालिका २ का ५५ वर्षीय सुजन ठाकुरको पनि चिसोकै कारण कठ्याग्रिएर घरमै मृत्यु भएको थियो ।

यस्तै छिन्नमस्ता गाउँपालिका १ बिरपुरका ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको पनि चिसो कै कारण मृत्यु भएको थियो । नेपाल पाटी