सम्पादकीय

प्रदेश प्रमुख र राजधानी सकस , ओलीलाई कुर्दै देउवा



काठमाण्डौ ३ माघ । हरेक दिनजसो प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने बताउँदै आएको सरकार अन्ततः एमाले अध्यक्ष केपी ओलीलाई कुर्ने निष्कर्षमा पुगेको छ । उपचारका क्रममा बैंककमा रहेका अध्यक्ष ओली फर्केपछि एकपटक छलफल गरेर मात्र निर्णय लिने निष्कर्षमा प्रधानमन्त्री पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
तर, कानुनमन्त्री यज्ञबहादुर थापा र श्रममन्त्री फरमुल्लाह मन्सुर भने बुधबार आज बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने बताउँछन् । उनीहरूले यस्तो दाबी गरेको यो तेस्रोपटक हो ।

प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा निर्णय गर्न भन्दै मंगलबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक मंगलबार साँझलाई सारिए पनि पुनः बुधबार बिहानका लागि सारिएको छ । तर, प्रधानमन्त्री भने प्रदेश अस्थायी राजधानीमा चौतर्फी विरोध र आफ्नै पार्टीभित्रको असन्तुष्टिपछि ओली नफर्किएसम्म निर्णय नगर्ने निष्कर्षमा पुगेका हुन् ।
‘भोलि बुधबार बस्ने बैठकमा मन्त्रीहरूको ठूलै दबाब आएको अवस्था र एमालेबाट पनि सकारात्मक संकेत आए बेग्लै कुरा नत्र उहाँ केपी ओली नफर्किएसम्म निर्णय नगर्ने निष्कर्षमा पुग्नुभएको छ,’ प्रधानमन्त्री सचिवालय
स्रोतले भन्यो ।
स्रोतका अनुसार सहमतिमा नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारीमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवा केही दिन पर्खेर भए पनि एमाले अध्यक्ष ओलीसँगको छलफलपछि मात्रै सोबारे निर्णय गर्ने मनस्थितिमा पुगेका हुन् ।
‘एमाले अध्यक्ष देश बाहिर हुनुन्छ, उहाँ फर्किएपछि मात्रै सरकारले सोबारे निर्णय गर्छ । प्रधानमन्त्रीज्यूको चाहना सकेसम्म सहमतिबाटै प्रमुख र अस्थायी राजधानी तोक्ने भन्ने छ,’ कांग्रेसका अर्का एक नेताले भने । ओली बिहीबार फर्कने कार्यक्रम छ ।राजधानीमा समाचार छ ।