Banner News

सातवटै प्रदेशका प्रमुखले पद तथा गोपनीयताको सपथ लिए



काठमाडौ ५माघ । प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन्।

सरकारले बुधबार सातै प्रदेशका प्रमुखको सिफारिस गरेको थियो।

प्रदेश–१ मा डा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ल प्रमुख रहेका छन्।

प्रदेश नम्बर १ को मुकाम विराटनगरमा क्षेत्रीय पशुसेवा निर्देशनालयको भवनमा प्रदेश प्रमुखको कार्यालय बनाएर रंगरोगन सुरु गरिएको छ । दुई नम्बर प्रदेशमा जनकपुरको शहरी तथा भवन डिभिजन कार्यालयको भवनमा प्रदेश प्रमुखको कार्यालय राख्ने तयारी छ ।

क्षेत्रीय प्रशासन कार्यालय हेडौंडामा ३ नम्बर प्रदेशका प्रमुखको कार्यालय राखिने छ । पोखराको अध्यागमन कार्यालय वा क्षेत्रीय प्रशासन कार्यालय मध्ये एक ठाउँमा ४ नम्बर प्रदेशका प्रमुखको कार्यालय बनाइएको छ । बुटवलको सीप विकास केन्द्र, राजश्व अनुसन्धान केन्द्र वा उद्योग व्यापार संघको भवनमध्ये एक ठाउँमा प्रदेश प्रमुखको कार्यालय बनाउने तयारी छ । सुर्खेतको क्षेत्रीय बन निर्देशनालय तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय बनाइएको छ ।

७ नम्बर प्रदेशमा भने प्रदेश प्रमुखको कार्यालय भवनको खोजी चलिरहेको छ । प्रदेश प्रमुखले शपथ लिएसँगै निर्वाचन आयोगले आजै प्रदेशसभाको चुनावी परिणाम बुझाउने तयारी गरेको छ । राष्ट्रियसभा चुनावका लागि पर्सी मतदाता नामावली प्रकाशन गर्नुपर्ने भएकाले प्रदेश प्रमुखहरुले त्यसअघि नै प्रदेश सांसदलाई शथप ग्रहण गराउनुपर्नेछ ।