Banner News

एमाले–माओवादी संगठनात्मक एकताका लागि अन्तरिम विधान बन्दै



काठमाडौं, १५ फागुन । एमाले र माओवादीको संगठनात्मक एकीकरणका लागि अन्तरिम विधानमाथि आज छलफल हुने भएको छ । दुवै दलका नेता सम्मिलित कार्यदलले आगामी साता भित्र अन्तरिम विधान मस्यौदा तयार गरी पार्टी एकता संयोजन समितिमा पेश गर्नेछ ।

यसअघि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले दुवै पार्टीको विधान र पार्टी सञ्चालनका नियमावली एक अर्कालाई अध्ययनका लागि हस्तान्तरण गरेका थिए । आजको बैठकले दुई पार्टीका तल्ला कमिटीहरुको समायोजन, जनसंगठनहरुको समायोजन लगायतका विषयमा छलफल गर्नेछ ।
यसअघि बसेको कार्यदल बैठकमा एमालेको विधान, पार्टी र जनसंगठन सञ्चालन नियमावली, पार्टी सदस्यहरुको कम्प्युटर सिस्टममा राखिएको विवरण माओवादी नेताहरुलाई अध्ययन गर्न दिइएको थियो । माओवादीको भने चार हजार सदस्यीय केन्द्रीय समिति भएकाले केन्द्रीय सदस्यहरुकै रेकर्ड उपलब्ध हुन नसकेको विवरण प्रस्तुत भएको थियो ।

दुई पार्टीको एकतापछि केन्द्रीय तहमा महाधिवेशन, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी समिति हुनेछ भने प्रदेश र स्थानीय तहमा कार्यकारी कमिटी रहने कार्यदलबीच समझदारी भएको छ । यस्तै जिल्ला तहमा समन्वयकारी कमिटी रहने पनि कार्यदलमा समझदारी बनेको छ ।

अन्तरिम विधान मस्यौदा गर्न बनेको कार्यदलले मस्यौदा पार्टी एकता संयोजन समितिमा पेश गर्नेछ । एकता संयोजन समितिले अनुमोदन गरेपछि एमाले–माओवादी एकताले सांगठनिक रुप लिनेछ । यसअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संयुक्त रुपमा अध्यक्षता गर्ने द्विअध्यक्षात्मक प्रणालीमा जाने सहमति भइसकेको छ । पार्टीको एकता महाधिवेशनबाट भने एकजना अध्यक्ष रहनेगरी नेतृत्व चयन हुनेछ ।