Banner News

संघीय सांसदको शपथ आज



काठमाण्डौ २० फागुन । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको तीन महिनापछि निर्वाचित सदस्यले आइतबार शपथ लिँदै छन् । प्रतिनिधिसभाको २७५ र राष्ट्रिय सभाका ५९ सदस्यले शपथ लिन लागेका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित २७५ मध्ये कैलाली–१ बाट विजयी भएका रेशमलाल चौधरी टीकापुर घटनाका कारण पुर्पक्षका लागि थुनामा छन् । थुनामा भएका कारण उनले शपथ लिन पाउनेछैनन् । तर, उनले आफूले शपथ लिन पाउनुपर्ने भन्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । उनले आफू थारू भाषामा शपथ लिने भन्दै शपथको बेहोरासमेत सचिवालयमा दर्ता गराएका छन् ।

यसैगरी, सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य भएका तीन जनालाई सर्वोच्च अदालतले शपथ नगराउन आदेश गरेको छ । तर, आइतबार नै सो मुद्दाको विषयमा सुनुवाइ हुने भएकाले अदालतले शपथ गराउन आदेश दिएमा उनीहरूले पनि आइतबारै शपथ लिनेछन् ।

शपथमा सांसदहरूले नेपाली भाषासहित ११ भाषामा शपथ लिनेछन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने सदस्यहरूले नेपालीबाहेकको भाषामा शपथ लिन शुक्रबारसम्म आफूले शपथ लिने बेहोरासहित निवेदन दिएर शपथको भाषासमेत बुझाएका छन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका हैसियतमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले राष्ट्रपतिबाट आफ्नै मातृभाषा बज्जिका भाषामा शपथ लिनेछन् ।

राष्ट्रिय सभामा ६९ वर्षकी तारादेवी भट्टले पनि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछिन् । दिउँसो १ बजे दुवै जनालाई राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ गराउने कार्यक्रम तय भएको संसद् सचिवालयका प्रवक्ता डा। भरतराज गौतमले जानकारी दिए ।

राजपा अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले भने मैथिली भाषामा शपथ लिनेछन् । यसैगरी, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको शपथ मैथिली भाषामा लिने भएका छन् । माओवादी केन्द्रका सांसद एवं पूर्वसभामुख ओनसरी घर्ती र नेता वर्षमान पुनले मगर भाषामा शपथ लिनेछन् ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाका ६ सांसदले आफ्नो फरक भाषामा शपथ लिन निवेदन दिएका छन् । जसमा मैथिली भाषामा वृषेशचन्द्र लाल, डा। सुरेन्द्रकुमार यादव, प्रमिला कुमारी र सूर्यनारायण यादवले शपथ लिनेछन् ।यस्तै, राष्ट्रिय सभामा रमेश यादवले हिन्दी र रामप्रीत पासवानले बज्जिका भाषामा शपथ लिनेछन् ।
संसद् सचिवालयका प्रवक्ता डा। भरतराज गौतमका अनुसार संघीय संसद्का सदस्यहरूले आफ्नो रोजाइको भाषामा शपथ लिन निवेदन दिने समय शुक्रबार सकिएको छ । शुक्रबारसम्ममा ४२ जना सांसदले आफूले छुट्टै भाषामा शपथ लिने निवेदन दिएको र उनीहरूको भाषाको बेहोरासमेत सचिवालयमा दर्ता भइसकेको उनले जनकारी दिए । ‘शपथको बेहोरासमेत सम्बन्धित सांसदले अनुवाद गरेर संसद् सचिवालयाई बुझाउनु भएको छ,’ उनले भने, ‘नेपालीपछि सबैभन्दा धेरै मैथिली भाषामा शपथ लिने सांसदहरू देखिनुभएको छ ।’
यस्तै, प्रतिनिधिसभातर्फ मैथिली भाषामा शपथ लिनेहरूमा उपेन्द्र यादव, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, सुरेशचन्द्र दास, शरतसिंह भण्डारी, राजकिशोर यादव, महन्थ ठाकुर, रेणुकुमारी यादव, दिल कुमारी, मातृका यादव, इन्दुकुमारी शर्मा र मिनाक्षी झा रहेका छन् । यस्तै, हिन्दीमा शपथ लिनेहरूमा अनिलकुमार झा, प्रमोद शाह, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, रानी मण्डल, सरिता गिरी र चन्दा चौधरी रहेका छन् ।
यसैगरी, प्रतिनिधिसभामा भोजपुरी भाषामा शपथ लिनेहरूमा प्रदीप यादव, रामबाबुकुमार यादव, रामसहायप्रसाद यादव, हरिनारायणप्रसाद रौनियार र अकवाल मियाँ रहेका छन् । यस्तै, थारू भाषामा शपथ लिनेहरूमा गंगा चौधरी सत्गौवा, शान्ता चौधरी र रेशमलाल चौधरी छन् । यस्तै, मगर भाषामा वर्षमान पुन र ओनसरी घर्तीले शपथ लिँदै छन् । नेपाल भाषामा संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले शपथ लिने भएका छन् । यस्तै, अवधी भाषामा मोहम्मद इस्तियाक राई, तामाङ भाषामा हितबहादुर तमाङ, बज्जिका भाषामा महिन्द्रराय यादव र उर्दू भाषामा रोहिनाजले शपथ लिने भएका छन् ।

कार्यसूची तय गर्न बैठक
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद्को पहिलो बैठक आह्वान गरेकी छन् । सोमबार बस्ने पहिलो बैठकको कार्यसूची तयार पार्नका लागि आइतबार नै संघीय संसद्मा प्रतिनिधित्व गर्ने पाँच मान्यताप्राप्त राष्ट्रिय दलको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार शपथभन्दा अघि नै सोमबारको पहिलो बैठकको कार्यसूची तयार पार्न नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिहरू बैठकमा सहभागी हुनेछन् ।

बैठकले पहिलो दिनको बैठकको कार्यसूची तयार पार्नेछ । संसद् सचिवालयले प्रस्ताव गरेको कार्यसूचीमा दलका नेताहरू सहमत भइसकेको सचिवालयका प्रवक्ता डा। भरतराज गौतमले जानकारी दिए । उनका अनुसार पहिलो बैठकको सुरुमा राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र ज्येष्ठ सदस्यले पढेर सुनाउनेछन्, त्यसपछि १ मिनेट मौनधारण हुनेछ । संसद्ले सभामुखको निर्वाचनको तयारी पनि गर्नुपर्ने भएकाले कार्यसूचीमा सभामुख निर्वाचनको विषय पनि पर्न सक्नेछ । संसद् सञ्चालनका लागि कार्यविधि आवश्यक हुने भएकाले अन्तरिम कार्यविधि पारित गर्ने विषय कार्यसूचीमा राखिनेछ । सचिवालयले बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि राष्ट्रिय दलका नेताहरूलाई अध्ययनका लागि दिइसकेको सचिवालयले जनाएको छ । आइतबारको बैठकमा सो कार्यविधि पारित गर्ने विषयमा कार्यसूची रहने वा नरहने भन्ने विषयमा टुंगो लाग्नेछ ।राजधानी बाट ।