Banner News

राष्ट्रपति निर्वाचन आज , ८८० मतदाता , संघ र प्रदेशका लागि फरक रङको मतपत्र



काठमाण्डौ २९ फागुन । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मंगलबार निर्वाचन हुँदै छ । संघीय संसद्का ३३१ र प्रदेशसभाका ५४९ गरी राष्ट्रपति चुन्न ८८० जना निर्वाचक मण्डल ले मतदान गर्दै छन् ।

नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेतृ कुमारीलक्ष्मी राईले उम्मेदवारी दिएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा हुने निर्वाचनमा मतदानका लागि सातै प्रदेशका प्रदेशसभा सदस्य काठमाडौं आइसकेका छन् । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावलीअनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५६ गरी संघीय संसद्‌का ३३१ सदस्यले मतदान गर्नेछन् । यस्तै, सातवटै प्रदेशका कुल ५४९ प्रदेशसभा सदस्यले समेत गरी कुल ८८० जनाले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यका लागि फरकफरक रङको मतपत्रको व्यवस्था गरिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि तोकिएका सहायक निर्वाचन अधिकृत बिनोदकुमार दाहालले संघीय संसद्का सदस्यले सेतो रङको कागजको पृष्ठभूमिमा हरियो रङको अक्षर अंकित मतपत्र र प्रदेशसभाका सदस्यले सोही रङको पृष्ठभूमिमा रातो रङको अक्षर अंकित मतपत्रमा मतदान गर्ने जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभारसमेत संघीय कानुनबमोजिम फरक छ । संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ ।

मतभारअनुसार संघीय संसद्‌का कुल ३३१ सदस्यको कुल मतभार प्रतिसदस्य ७९ का दरले २६ हजार १४९ हुनेछ । यस्तै, प्रदेशसभाका कुल ५४९ सदस्यको कुल मतभार प्रतिसदस्य ४८ का दरले २६ हजार ३५२ हुनेछ ।

यसरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ५०१ मतभार हुनेछ । जितका लागि भने कुल मतभारको ५१ प्रतिशत अर्थात् उम्मेदवारले कम्तीमा २६ हजार २५१ मत प्राप्त गर्नुपर्छ । मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।रजधानी बाट ।