काठमाडौ ४ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बैशाख ९ गते पार्टी एकता घोषणा सभा नहुने भएको छ ।
विवादित विषयमा सहमति नजुटेको र कार्यदलको प्रतिवेदन दुई अध्यक्षले अध्ययन गर्न केही समय लाग्ने भएकाले एकता घोषणा सभाको समय केही पर सरेको एकता संयोजन समितिका सदस्य एवं एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठक निष्कर्षविहीन भएको छ । बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बैठक बसेको हो । कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल भएको थियो । समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी थिए ।
समितिले पार्टी एकताका लागि थप छलफल आवश्यक रहेको निश्कर्ष निकालेको छ । बैठकपछि समिति सदस्य ईश्वर पोखरेलले कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्न दुई पार्टीका अध्यक्षले नभ्याएकाले एकताको घोषणा केहीदिन पर सरेको बताए । अर्को बैठकमा एकताको मिति तय गरिने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
एकीकृत पार्टीमा रहने केन्द्रीय समितिको संख्या, निर्वाचन चिन्ह तथा पार्टीको विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने भन्ने बिषयमा पछिल्लो समय दुई दलबीच विवाद देखिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्