(बैशाख ६, काठमाडौं) । चेलीबेटी बेचबिखन र ‘वेश्यालय’ चलाएको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष कैद सजाय ठहर भएको सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष समेत रहेका तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको हो । उनी दोषी ठहर भएको मुद्दामा तामाङको स्थायी ठेगाना नुवाकोट घाङफेदी ४ र बाबुको नाम वीरबहादुर तमाङ छ । पुरानो मुद्दामा घाङफेदी ६ र बाबुको नाम आइतमान तामाङ रहेको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने फैसला सुनाएको हो ।
जिल्ला अदालत नुवाकोटले गएको चैत ९ गते सुनबहादुरलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । उनीसहितका तीन जनालाई यस्तो सजाय सुनाइएको थियो ।
नुवाकोटमा दुई महिला सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्