Banner News

नेपालीको मनमुटुका नेता मनमोहनको १९ औं स्मृति दिवस : विभिन्न कार्यक्रमका साथ मनाइदै



बैशाख १३, काठमाडौं । नेकपा एमालेका पहिलो अध्यक्ष तथा दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री जननेता मनमोहन अधिकारीको आज १९ औं स्मृति दिवस हो ।

नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका पहिलो पुस्ताका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गरेका थिए । मनमोहन नेतृत्वको सरकारले नेपालमा पहिलोपटक सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो । यसको ‘जस’ एमालेले अहिलेसम्मका चुनावमा लिँदै आइरहेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकीकरण गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीले अंग्रेजविरुद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका थिए । ००३ सालमा बिराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका अधिकारी नेपालको पहिलो मजदूर नेता पनि हुन् ।

०५६ सालको आम निर्वाचनका क्रममा काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा ०५६ वैशाख १३ गते अधिकारीको निधन भएको थियो । अधिकारी त्यस निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ३ बाट एमालेका उम्मेदवार थिए ।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए भने ०५१ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रधानमन्त्री बनेका थिए ।