बैशाख २२, काठमाडौँ । पानी मानिसको शरीरका लागि जरुरी तत्व हो । शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ । यो कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन । गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ । गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । पानीको कमीका कारण मिर्गौलाको समस्या निम्तने सम्भावना हुन्छ । सबैभन्दा बढी समस्याचाहिँ ‘डिहाइड्रेशन’ नै हो ।
प्रतिदिन व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्छ । यस्ता मानिसका लागि पानीको कमी हानिकारक हुन सक्छ । यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपर्छ । दिनको ८ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट सजिलै बँच्न सकिन्छ ।
१. पानी खाना खानु आधा घण्टा अघि या खाना खाएको आधा घण्टापछि पिउनुपर्छ । छाति पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउन सकिन्छ । खाना खाएलगत्तै पानी पिउनुहुन्न, यसले खाना पचाउन समस्या हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ । पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मुत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ।
२. डिहाइड्रेशन हुँदा बान्ता हुने, जिब्रो सुक्ने, श्वास लिन गाह्रो हुने, चिडचिडाहट हुनेजस्ता समस्या हुन्छ । पानीमा अलिकता नुन र चिनी मिसाएर तत्काल पिउनुपर्छ । काँचो दूधको लस्सी बनाएर पनि पिउन सकिन्छ । महीमा नुन हालेर पिउनाले पनि यो समस्याबाट मुक्त हुन सकिन्छ ।गर्मी मौसममा अधिक व्यायाम गर्ने या जिम जाने तथा बढी व्यस्त हुने मानिसलाई डिहाइड्रेशनको समस्या हुन्छ । यस्ता मानिसले पानी पिउने क्रमलाई बढाउनुपर्छ।
३. पानीको विकल्प काँक्रोमा९६ प्रतिशतभन्दा बढी पानी हुन्छ । पालुंगोमा पनि ९१ प्रतिशत पानी हुन्छ । स्टार फ्रुटमा पानी करिब ९१ प्रतिशत हुन्छ । गोलभेंडामा ९४.३ प्रतिशत पानी हुन्छ । खरबुजामा ९२ प्रतिशत पानी हुन्छ । विभिन्न फलफूल तथा तरकारीलाई पनि पानीको विकल्पको रुपमा लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्