राजनीति

नाकाबन्दीको बेला जनमत बटुल्न र चुनावमा जित्नका निम्ति राष्ट्रवादको डंका पिटे : संयोजक मिश्र



बैशाख २८, काठमाडौं । आफ्नो पार्टीले शान्तिपूर्ण रूपमा कार्यालयभित्रै गरेको विरोध प्रदर्शनसमेत बिथोलेर प्रधानमन्त्री केपी ओलीले भारतकाप्रति पुरानै लम्पसारवाद चरित्र देखाएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बताएका छन् ।

‘उनको विगत सबैका अघिल्तिर प्रष्ट हुँदाहुँदै पनि नाकाबन्दीको बेला जनमत बटुल्न र चुनावमा जित्नका निम्ति राष्ट्रवादको डंका पिटेका थिए,’ मिश्रले भने, ‘अब चाहिँ सत्ता टिकाउनका निम्ति फेरि पुरानै लम्पसारवाद चरित्र देखाउन थालेका हुन्।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आएको समय पारेर आफ्नो पार्टीले शुक्रबार भद्र विरोध जनाउँदै पार्टी कार्यालयभित्रै ब्यानर राखेको मिश्रले बताए। बखुण्डोलस्थित पार्टी भवनमा झुण्ड्याइएको ब्यानरमा केबल ‘मोदीजी स्वागत छ। तर, नाकाबन्दी बिर्सेका छैनौं।’ लेखिएको थियो।

मिश्रका अनुसो दिउँसो साढे दुई बजे डिएसपीको नेतृत्वमा आएको प्रहरी टोलीले ‘सिडिओ र माथिको आदेश’ भन्दै ब्यानर झिकेर लैजानुपर्ने बताए । त्यतिबेला पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेकै थियो।

उक्त घटनाबारे थाहा पाएपछि पार्टीका शुभेच्छुकहरू कार्यालयमा जम्मा भएर नाराबाजी पनि गरेका छन्।