जेष्ठ ८, काठमाडौं । चीनको केरुङदेखि काठमाडौंसम्म बन्ने रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको छ ।
सोमबार काठमाडौंका विभिन्न स्थानमा पुगेर स्टेशनहरुबारे अध्ययन गरेको टोली मंगलबार रेल्वे विभागको प्राविधिक टोलीसँगै केरुङ गएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन रिपोर्ट भदौ १५ भित्र ल्याउने लक्ष्य छ । सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्यूटबाट चिनियाँ प्राविधिकको टोलीले फिल्डमै पुगेर काम थालेको हो ।
रेलललाई काठमाडौंमा कुन क्षेत्रबाट गुडाउने भन्ने विषय पनि यही प्रतिवेदनमा समावेश हुनेछ । केरुङ-काठमाडौं रेलमार्ग काठमाडौंको टोखा क्षेत्रबाट प्रवेश गर्ने रेल विभागका एक अधिकारीले बताए । तर अन्य क्षेत्रबारे पनि अध्ययन भइरहेकाले अहिले नै कहाँबाट रेलमार्ग बन्छ भन्ने विषय फाइनल नहुने उनको भनाइ छ ।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण अघि बढाउने उल्लेख गरेको छ । रेल मार्गलाई काठमाडौंसम्म जोड्ने योजनाका साथ चिनियाँ टोली सम्भाव्यता अध्ययन गर्न नेपाल आएको हो ।










प्रतिक्रिया दिनुहोस्