राजनीति

नेकपामा ओलीबाहेक सबैलाई एक व्यक्ति एक पद



जेष्ठ १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत एक व्यक्ति एक पद अनुसार अघि वढ्ने भएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीवाहेक सवै पदाधिकारीहरुमा लाग गर्ने भएको छ ।

नेकपाले बढीमा ३३ देखि ३५ वटा विभाग प्रस्ताव गरिएको छ । पार्टीको नियमावली मस्यौदामा तत्कालिन एमालेले अभ्यास गरेको ढाँचा अनुसार विभागहरु बनाउने प्रस्ताव गरिएको हो ।

बेदुराम भुसाल र खिमलाल देवकोटाको उपसमितिले तयार पारेको पार्टी सञ्चालन नियमावली महासचिव बिष्णु पौडेल नेतृत्वको समितिमा पेश भएको छ । समितिमा छलफलपछि केही थपघट गर्न पुन भुसाल उपसमितिलाई दिइएको स्रोतले जनाएको छ । उपसमितिले जेठ १८ गते अन्तिम मस्यौदा बुझाउनेछ ।

नियमावली मस्यौदा गर्न केन्द्रीय सचिवालयले महासचिव पौडेलको संयोजकत्वमा देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो ।

नेकपाका विभागहरुमा प्रमुख, उपप्रमुख र सचिव तीन पदाधिकारीसहित ३० बढी सदस्य हुने निमावलीमा व्यवस्था गरिँदैछ । विभागमा प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीले तोक्नेछ । विभागको सचिव भने सदस्यहरुमध्येबाट चयन गरिने नियमावलीमा उल्लेख छ ।

नेकपाले विधान र निमायवलीमा रहेको एक व्यक्ति एक पदको अवधारणालाई कडाइका साथ लागु गर्ने भएको छ । राज्यको कार्यकारी पदमा रहेका व्यक्ति पार्टीको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहन नपाउने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री, संघीय सरकारका मन्त्री, स्थानीय तहका प्रमुखहरु पार्टी कमिटीको प्रमुख कार्यकारी हुन पाउने छैनन् ।

प्रदेश कमिटीको हकमा भने यो पहिलो पटक गठन हुन लागेकाले के गर्ने भन्ने छलफल हुँदैछ । भूगोल कमिटीको अध्यक्ष वा इन्चार्ज भएको व्यक्ति विभागको प्रमुख वा इन्चार्ज बन्न नपाउने व्यवस्था गरिएको छ । नेकपाका सबै कार्यकारी कमिटीमा अध्यक्ष र सचिव रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष, दुई बरिष्ठ नेता, महासचिव र प्रवक्ता विधानमै तोकिएको छ । तर प्रदेश, स्थानीय तह, वडा कमिटीदेखि प्रारम्भिक कमिटीसम्म पार्टी एकता गर्दा अध्यक्ष र सचिव दुईमात्र पदाधिकारी रहनेछन् ।

जनसंगठनहरुको हकमा भने सम्वन्धित कमिटीको विधान अनुसार पदाधिकारी व्यवस्था गर्न स्वतन्त्र हुनेछन् । पार्टी केन्द्रीय सदस्य रहेको व्यक्ति पनि आवश्यकता परेमा जनसंगठनको अध्यक्ष हुन सक्ने बाटो खुला गरिएको छ ।