जेष्ठ १४, काठमाडौं । सर्वस्वसहित जन्म कैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाईल माग गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय मिरा खड्का र टंकबहादुर मोक्तानको सोमबार बसेको संयुक्त इजलासले ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाईल महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुनेगरी अदालतमा झिकाउन आदेश दिएको हो । सर्वोच्चले भोलि कार्यालय समय सुरु हुनेबित्तिकै महान्यायाधिवक्ता कार्यालय मार्फत गृह मन्त्रालयमा रहेका फाइल पेश गर्न आदेश दिएको हो ।
सरकारी वकिलहरुले ढुंगेललाई कैद सजाय मिनाहा के कारणले गराउने खोजेको हो भन्ने थाहा पाउन नसकिएको बताएपछि त्यसको सक्कल फाईल अदालतमा पेश गर्न आदेश दिइएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए । उनले बहस जारी गरेको मुद्दाका विषयमा थप भन्न नमिल्ने पनि स्पष्ट पारे ।
सर्वोच्चले यससम्बन्धि बहस मंगलबार पनि जारी रहने जनाएको छ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलको बाँकी कैद सजाय मिनाहा गर्ने तयारी गरेपछि त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र ढुंगेललाई विपक्ष बनाई सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए । रिटमा ढुंगेलको कैद मिनाहाको निर्णय रोक्न अन्तरिम आदेश समेत माग गरिएको छ ।
सरकारले ढुंगेलसहित ८ सय ५० कैदीलाई कैदी माफी दिई गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेको छ । त्यसका लागि कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयमा सूची समेत पठाइसकेको छ ।
उक्त कुरा सार्वजनिक भए लगत्तै सर्वोच्चमा रिट दर्ता भएको थियो । ढुंगेललाई यसअघि बाबुराम भट्टराई सरकारले पनि माफी दिन खोज्दा सर्वोच्चले नै रोकेको थियो ।










प्रतिक्रिया दिनुहोस्