राजनीति

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु, खेलकुदको विकासमा गर्नुपर्छ : सांसद वस्नेत



असार १, भक्तपुर । भक्तपुरमा आजबाट प्रदेश नं. ३ स्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले खेलवाटै बाँच्न सक्ने अवस्थाको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल तेक्वान्दो संघ प्रदेश नं.३ को आयोजनामा सूर्यविनायक स्थित यो यो बैंक्वैटमा सुरु भएको प्रतियोगिताको सांसद बस्नेतले उद्घाटन गरेका थिए । कार्यक्रममा वोल्दै सांसद वस्नेतले सरकारले खेलकुदको विकासमा लगानी बढाउँदै गएको र खेलबाटै बाँच्न सक्ने अबस्थाको विकास हुदै गएकाले खेलप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताएका छन् । साथै प्रतियोगिताले खेलाडी खारिने मात्रै नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने खेलाडीहरु जन्मनेमा विश्वास व्यक्त गरेका थिए ।

१२ जिल्लाको १२५ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा पुरुष तर्फ ५०–५४, ५४–५८, ५८–६३, ६३–६८ र ६८–७३ तौल समूह र महिलातर्फ ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ तौल समूह बिच प्रतिस्पर्धा भएको छ । पुन्सेतर्फ एकल र जोडी गरि दुई ईभेन्टमा प्रतिस्पर्धा भएको संघका अध्यक्ष केशव पुरीले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने प्रदेश टिम, खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । खेल भोली सम्पन्न हुनेछ ।