समाचार

निःशुल्क शिविरमा ५६८ को स्वास्थ्य परीक्षण : ५६ जनाद्धारा रक्तदान



असार ३, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटमा अभ्युदय स्वास्थ्य सेवा केन्द्र तथा अभ्यूदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ५६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

शुक्रवारदेखि शुभारम्भ भएको अभ्युदय स्वास्थ्य सेवा केन्द्रको उद्घाटनको अवसरमा आयोजित शिविरमा बालरोग, नशा रोग, हाडजोर्नी, स्त्रीरोग तथा प्रजनन् स्वास्थ्य, जनरल स्वास्थ्य एवं दनत परीक्षण गरिएको केन्द्रका भाईकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा ल्याब, एक्सरे, फिजियोथेरापी, ई.सि.जी. सेवा समेत निःशुल्क गरिएको थियो भने औषधि समेत निःशुल्क वितरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रले आगामी दिनमा पनि जेष्ठ नागरिकलाई ल्याब एक्सरे, फिजियोथेरापी, ई.सि.जी. परीक्षणमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने व्यबस्था गरिएको उहाँले बताउनुभयो ।

केन्द्रको शुक्रवार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्दै आफ्नै गाउँ टोलमा स्वास्थ्य संस्थाहरु संचालनमा आएपछि उपचार गर्न टाढा जानु पर्ने बाध्यता कम हुने उहाँले बताउनुभयो ।

त्यसैगरी  कार्यक्रममा ५६ जना रक्तदाताले रक्तदान गरेका छन् ।