असार ८, भक्तपुर । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक विदेशीको सहयोगमा मात्र निर्माण हुन नसक्ने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिकाको तेश्रो नगरसभालाई सम्बोधन गर्दै बाँस्कोटाले भन्नुभयो, ‘हामी हाम्रो मुलुक आफै बनाउने हो बाह्य सहयोगमा हैन ।’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले जनप्रतिनिधिहरुले जनता सामु गरेका संकल्प पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘जनताले विश्वास गरेर तपाईहरुलाई निर्वाचित गर्नुभएको छ । त्यसको अवमूल्यन हुने काम कहिलेपनि नगर्नु ।’
कार्यक्रममा ३ नम्बर प्रदेशका सांसद शशिजंग थापाले स्थानीय तहमा कानुन निर्माण गरी कार्यान्वयन गर्ने सन्दर्भमा सूर्यविनायक नगरपालिका अब्बल रहेको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकालाई सुन्दर र समृद्ध बनाउने दायित्व जनप्रतिनिधिको मात्र नभएर सम्पूर्ण नगरवासीले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो ।
सूर्यविनायक नगरपलिकामा धार्मिक पर्यटनको विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको बताउँदै थापाले भन्नुभयो, ‘नगरपालिकामा रहेका धार्मिक सम्पदा र पर्यटकीय सम्भावना भएका क्षेत्रलाई विशेष प्रबद्र्धन गर्नु जरुरी छ ।’
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय सरकार आफैंले नीति निर्माण गर्ने र सोही अनुसारको कानुन निर्माणमा गर्न सक्ने अधिकार संविधानले प्रदान गरेका कारण स्थानीय श्रोत र साधनको प्रचुरमात्रामा प्रयोग गर्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानले स्थानीय तहका निम्ति स्पष्ट अधिकारी सुनिश्चित गरेका कारण स्थानीय साधन र स्रोतको उचित सदुपयोग भएको छ । जसका कारण विकासले गति लिएको र स्थानीय जनतामा नगरपालिका प्रति विश्वासको वातावरण सिर्जना भएको छ ।’
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले नगरपालिका भित्रका भूकम्प प्रभावितहरुका निम्ति नगरपालिकाले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष बचन देउजाले नगरपालिकाको नीति तथा कार्यक्रमले नगरवासीले अनुभूत गर्ने खालका कार्यक्रमलाई विशेष महत्व दिनुपर्ने बताउनुभयो ।
यसैगरी नेपाली काँग्रेसका जिल्ला सदस्य निशान ढुङ्गेलले नगरपालिकाका विकास गतिविधिहरुमा जनताले अपनत्व ग्रहण गर्नसक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब सूर्यविनायक नगरपालिकाका नागरिकले नगरवासी हैन, शहरबासी भएको महसुस गर्न पाउनुपर्दछ ।’ ढुङ्गेलले नगरपालिकाका सकारात्मक कार्यक्रमको समर्थन र सहयोग गर्ने बताउँदै गलत क्रियाकलापको भने रचनात्मक आलोचन गर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्