समाचार

जनप्रतिनिधिले समस्या आए समाधान गर्न उसको नैतिक जिम्मेवारी : सांसद वस्नेत



                                                                                रमेश गिरी
असार २२, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधीसभा सदस्य महेश बस्नेतले जनप्रतिनिधीले नेतृत्व, संगठन, बिधी तथा प्रक्रियालाई मानेर अगाडि बढी समस्या आए समाधान गर्नु नैतिक जिम्मेवारी भएको बताउनुभएको छ ।

क्रियासिल पत्रकार मञ्च, भक्तपुरले नगरकोटमा आयोजना गरेको कार्यक्रममा वोल्दै सांसद वस्नेतले जिल्लाको विकासमा नगरपालिकाहरु बिच समन्वय हुन नसके ठूला विकासको आयोजनाहरु प्रभाव पर्ने बताउँदै उहाँले आवश्यक परे ऐन, नियम, कानून सच्याएर जान सकिने बताउनुभयो । जनप्रतिनिधी असक्षम भए जनताले फाल्ने चर्चा गर्दै उहाँले विकासका काममा जनप्रतिनिधी सफल हुनुपर्ने औल्याउनुभयो ।

जिल्लाको छिटो विकास गर्न र ठूला आयोजनाहरु सम्पन्न गर्न जिल्लाको सबै नगरपालिकाहरुको समन्वय गर्नुपर्ने सरोकारवाला निकायका बिज्ञहरुले जोड दिनुभएको छ ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले उत्पादनमुखी, ठूला र राम्रा कार्यक्रमहरु नगरपालिकाहरु बिच समन्वय गरेर अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “जिल्लाका नगरपालिकाहरुले अन्तरनगरपालिका बिच अन्तरसम्बन्ध विस्तार गर्दै साझा लगानीमा ठूला उत्पादनमुखी विकासका कार्य गरे सरकारले ५० प्रतिशतसम्म अनुदान दिन्छ, यसका लागि यहाँका सबै नगरपालिकाहरु मिलेर संयुक्त समिति बनाएर अगाडि बढे विकासले गति लिन्छ ।”

एउटा नगरपालिकामा आएका पर्यटकले सबै नगरपालिका घुम्ने गरि पर्यटकीय विकासको प्याकेज र प्वाईनट बनाएर साझा एजेण्डाका साथ नगरपालिका अगाडि बढे सरकारले सघाउँने बताउँदै उहाँले नगरपालिका संचालन सम्बन्धि ऐन, नियम, बिधी, प्रक्रियाकाबारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले स्थानीय तहका अधिकारहरु दिनदिनै काटिदै गएको प्रसंग कोट्याउँदै संघीयतामा अधिकार केन्द्रीकृत गरिने अभ्यास तिब्र हुदै गएको बताउनुभयो । उहाँले संघीय व्यबस्थाको परिचालनमा दुरुपयोग भईरहेको भन्दै संघीयता कार्यान्वयन चुनौती बन्दै गएको भनाई राख्नुभयो ।

उक्त कार्यक्रममा जनप्रतिनिधीहरुको क्षमता अभिबृद्धि एवं भक्तपुरको विकासमा नगरपालिकाहरुको समन्वय विषयक दुईदिने अन्तरसंवाद कार्यक्रममा बिज्ञहरुले यस्तो बताउनु भएको हो ।

त्यसअवसरमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेत, मध्यपुरथिमि नगरपालिकाको उपप्रमुख अञ्जना मधिकर्मीले विकासमा नगरपालिकाहरुको समन्वय र साझेदारीको निती लिदै एउटा जिल्ला भित्रको विकासका अवधारणा समान हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्राकृतिक श्रोत तथा बित्त आयोगका सहसचिव गोपी खनालले नगरपालिकाहरुले विकासमा अपनाउँनु पर्ने अवधारणा, प्रारुप, गतिबिधी कस्तो हुनुपर्छ भन्नेबारेमा प्रशिक्षण दिनुभएको थियो ।

मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधीको एकवर्ष विकासमा भन्दा पनि ाकम गर्ने तरिका, ऐन, कानून र व्यबस्था सिक्दैमा गएको चर्चा गर्दै अबको चारवर्ष विकास गर्र्दै जनताको आवश्यकतालाई सम्बोधन गर्नेगरि अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ, भक्तपुरका अध्यक्ष एवं पत्रकार सोम शर्मा (बजगाई), नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियासिल पत्रकार मञ्च, भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति रमेश गिरी, मञ्चका उपाध्यक्ष मकर श्रेष्ठ, सचिव जितेन्द्र श्रेष्ठले पाँचवर्ष पछि जनप्रतिनिधीले विदा लिदाँ गाली नभई प्रंशसा र ताली पाउँने गरि जनताको काम र विकास गर्नुपर्ने बताउँनुभयो ।