समाचार

प्रहरीद्वारा कार्कीको हत्यामा संलग्न चौधरी द्वयलाई पक्राउ



असार २४, काठमाडौं । जिल्ला प्रहरी कार्यालय भक्तपुरले चाँगुनारायण नगरपालिका वडा नं ८ जितपुर स्थित दिनेश खड्काको घरमा उमेश कार्कीको हत्यामा संलग्न रहेका सागर चौधरी र गंगाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आज पत्रकार सम्मेलन गरी जिल्ला सर्लाही हरीपुर नगरपालिका वडा नं ८ जगतपुर बस्ने नेपाली सेनाको श्री नयाँ सबुज गण सुर्खेत दरबन्दी भई प्युठ दर्जामा कार्यरत बर्ष ३५ को राम सागर चौधरीलाई निजको आफ्नै घरबाट र सर्लाही हरिपुर नगरपालिका वडा नं. ०७ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. सानो भर्‍याङ बस्ने वर्ष २९ को गंगाराम चौधरीलाई निजको आफ्नै डेरा कोठावाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असार १६ गते भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ८ जितपुर घर भएका बर्ष ३५ को उमेश कार्कीलाई फलामको रड र धारिलो हतियार चक्कु प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा मृत लास फेला परेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गर्ने क्रममा पकाएको कुखुराको मासु पोखिएको बिषयमा वादविवाद हुँदा घरको माथिल्लो तलामा मृतक उमेश कार्की माथि फलामको रड साथै धारिलो हतियार चक्कु समेत टाउको र अनुहारमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । हत्यामा संलग्न भई फरार ५ जना मध्ये प्रहरीले २ जना अभियुक्तहरुलाई पक्राउ गरी सम्मानित भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गराई अनुसन्धान भईरहेको साथै अन्य फरार अभियुक्तहरुको खोजतलास कार्य जारी रहेको महानगरिय प्रहरी परिषर भक्तपुरले जनाएको छ ।