समाचार

सांसद वस्नेतद्वारा विकास निमार्णका कार्यको निरिक्षण, समय सिमामा कार्य सम्पन्न नगरे कारवाही



असार २५, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले आफ्नो क्षेत्रमा भइरहेका विकास निमार्णका कार्यहरुको स्थलगत निरिक्षणका क्रममा समय सिमामा कार्य सम्पन्न नगर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

आइतवार भक्तपुर जिल्लामा काम सुरु गरी कार्यसम्पन्न नभएका चागुनारायण नगरपालिकाको कमल बिनायक नगरकोट सडक, कमलबिनायक भत्केको पाटीबाट सुडाल जाने सडक, मध्यपुर नगरपालिकाको वप्पा महादेव पाटी बिहार सडक, नयाँ ठिमी यचु पार्टी प्यालेश पछाडि बालकोट जाने फलामे पुलसंगै निर्माणाधीन पक्की पुल र बालकोट प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको घर अगाडिको बाटो निर्माणका लागि विगत चार-पाँच बर्ष अगाडि सम्झौता गरी काम सुरु गरेता पनि सम्पन्न नगरेकाले, स्थलगत निरीक्षण गरेका छन् ।

सांसद वस्नेतले अवको दिन भनेको नै विकास निमार्ण र समृद्धी भएकाले देशलाई विकसित तथा परिकृत गर्दै आर्थिक उन्नतीको मार्गमा अघि वढ्दै देशमा नै रोजगारीको सिर्जना गर्नु अहिलेको अनिवार्य आवश्यकता भएकाले सवै मिली अघि वढ्नुपर्ने बताए । समृद्ध नेपाली सुखी नेपाली भन्ने सरकारको अभियानलाई सफल बनाउन सवै तह र तप्काबाट आफ्नो देश आफै बनाउन गाउँ गाउँ र वस्ति वस्तिवाट उठ्नु पर्नेमा जोड दिएका छन् ।

सांसद वस्नेतले निरिक्षणका क्रममा सम्बन्धित कम्पनीका ठेकेदारहरुलार्इ उनीहरु कै साइडमा बोलार्इ काम सम्पन्न गर्ने समय सिमा तोकिएको छ । उक्त समय सिमासम्ममा पनि काम सम्पन्न नगरे कानुन अनुसार कार्वाही गर्ने चेतावनी दिएका छन् ।

निरिक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कुनै पनि विकास निर्माणका कार्यमा ठेकदार कम्पनीले हेलचेक्राई गरेमा कानुन अनुसार कारकावही हुने र कसैलाई छुट भन्ने कुरै नहुने बताए ।

निरिक्षण सांसद वस्नेतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, जिल्ला समन्वय समितिका सभापति नवराज गेलाल, एसएसपी हिमाल कुमार श्रेष्ठ, डिभिजन सडक कार्यालयका डिजी गुरु प्रसाद अधिकारी, चागुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्र, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरु सहितको टोलीले निरिक्षण गरेको थियो ।