राजनीति

एक गाउँपालिका एक स्वास्थ्य चौकी, उपचार गर्न नपाएर मर्नु पर्दैन : मन्त्री अर्याल



असार ३२, चितवन । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले सरकारले एक गाउँपालिका तथा नगरपालिकामा स्वास्थ्य चौकी सञ्चालन गर्ने अभियन चलाएको र आगामि दिनमा मानिसले उपचार गर्न नपाएर मर्नु पर्ने वाध्यता नहुने वताएकी छिन् ।

चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा सोमबार मन्तव्य राख्दै अर्यालले नेपालमा अझै पनि दुई हजार ३१२ वटा वडामा स्वास्थ्य संस्था नै नरहेको बताइन् । आधारभूत स्वास्थ्य सेवा निशुल्क बनाउने सरकारी लक्ष्य रहेकाले सरकारी योजना सफल पार्न ती वडाहरूमा स्वास्थ्य संस्थाहरू पुर्‍याउने प्रतिबद्धता जनाइन् । राज्यमन्त्री अर्यालले भनिन्, ‘एक नगरपालिका एक अस्पताल बनाउने सरकारी अवधारणा छ । यस अभियानलाई आगामी पाँच वर्षभित्रमा पूरा गरिन्छ ।’

फरक प्रसंगमा बोल्दै उनले सरकराले नै हरेक प्रदेशमा मेडिकल कलेज खोल्ने घोषणा गरिसकेकाले गोविन्द केसीले आन्दोलन गर्नुको अर्थ नभएको भन्दै जायज माग सम्बोधन गर्न सरकार तयार रहेको समेत उल्लेख गरिन् ।

राज्यमन्त्री अर्यालले विकास र समृद्धिका लागि पनि स्वास्थ्यको पहुँच जरुरी रहेको औल्याइन्। उनले समाजको सोचाई नकारात्मक बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै सरकारात्मक सोचका साथ देश विकासमा स्वयं आफ्नो भूमिका रहने कुरामा समेत जनताले ध्यान दिनुपर्नेमा उनको जोड थियो।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाका अनुसार जिल्लामा कुल ७ हजार ५८९ जना बालबालिकालाई यो अभियानमा खोप लगाइएको पाइएको थियो । नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार देशमा ७८ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन् । पूर्ण खोप सुनिश्चित हुनका लागि विसिजी, डिपिटी, पोलियो, पिसिभी, जेइ खोप लगायत हेपाटाइटिस वि, दादुरा, रुवेलाविरुद्धको खोप लगाएइको हुनुपर्छ ।