सम्पादकीय

मेडिकल कलेजले विद्यार्थी पाएनन्, प्रवेश परीक्षा नै नदिएका भारतीय भर्ना 



केन्द्रीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध खबरहरु लेखेका छन् । पहिरो र सवारी दुर्घटनाका समाचारलाई सबैजसो पत्रपत्रिकाहरुले समेटेका भए पनि अन्य विषयहरुमा भने विविधता छ ।

चिकित्सकहरु देशव्यापी हडतालमा उत्रेको खबरसँगै वार्ता अवरुद्ध भएपछि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याउने तयारी गरेकोलाई आजका अधिकांश पत्रपत्रिकाहरुले छापेका छन् । केसी १९ दिनदेखि अनशन बसिरहेका भए पनि वार्ता निष्कर्षमा पुग्न सकिरहेको छैन

मेडिकल कलेजले विद्यार्थी पाएनन्

नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहेको छ । तर चलिरहेका कलेजहरुले विद्यार्थी पाइरहेका छन् ।

नयाँ पत्रिका लेख्छ– वीरगञ्जमा सञ्चालित नेसनल मेडिकल कलेजले नेपाली विद्यार्थी नपाएपछि भारतबाट ओसारेको छ । तर नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको छ । अझ जनकपुरको जानकी मेडिकल कलेजले त भारतीय विद्यार्थीसमेत नपाएकाले ३५ सिट खाली राखेको छ ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्ज र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले प्रवेश परीक्षा लिन्छन् । दुवै विश्वविद्यालयले उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई कलेज रोज्न लगाएर भर्नाका लागि सिफारिस गर्छन् । तर कलेजको गुणस्तरमा विश्वास नलागेर नेसनल र जानकीमा विद्यार्थी पढ्न जान मानेका छैनन् ।