राजनीति

नेतालाई फाइदा र जनतालाई बेफाइदा हुने शिक्षा विधेयकमा सहमत हुँदैन : नेता सिंह



साउन ४,धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्ना व्यक्ति तथा नेतालाई मात्र फाईदा हुने र जनतालाई वेफाइदा हुने शिक्षा विधेयकमा नेपाली काग्रेसले कुनै पनि हालतमा सहमत नगर्ने बताएका छन् ।

कैलालीको धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले जनताको लागि काम गर्नुभन्दा पनि सरकारले आफ्नो सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको आरोप लगाएका छन् । नेता सिंहले भने ‘हामीले चुनावमा भनेको अधिनायकवाद अहिले आएर पुष्टि हुँदै गएको छ, जनताले परिवर्तन र देशमा विकास होला भनेर विश्वास लिएका थिए । तर, अहिलेको कम्युनिस्ट सरकार आफ्नो अधिनायकवादी र सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको अभास हामीले पाएका छौँ ।’

नेता सिंहले सरकारका गलत क्रियाकलापको नेपाली कांग्रेसले सडक र सदनमा सशक्त रुपमा जनताका कुरा राख्ने बताए । कांग्रेस नेता सिंहले डा. गोविन्द केसीको आन्दोलनप्रति समर्थन गर्दै शिक्षा र स्वास्थ्यको गुणस्तरमा आफूहरूले कहिल्यै सम्झौता नगर्ने बताए ।