समाचार

आज गुरु पूर्णिमा : गुरूप्रति श्रद्धाभाव प्रकट गरी विभिन्न कार्यक्रम गरी मनाइँदै



साउन ११, काठमाडौं । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा विभिन्न कार्यक्रम गरी मनाइद्रै छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी गुरु शब्दको विग्रह गर्दा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति भन्ने हुन्छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ । यसैले भनिएको छ –

गुरु ब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ।
यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ।