Banner News

आज विश्व हेपाटाइटिस दिवस : विश्वभर हेपाटाइटिस निर्मूल गरौँ भन्ने नाराका साथ दिवस मनाइँदै 



साउन १२, काठमाडौँ । आज विश्व हेपाटाइटिस दिवस विश्वभर हेपाटाइटिस निर्मूल  गरौँ” भन्ने नाराका साथ हेपाटाइटिस दिवस मनाइदै छ ।

हेपाटाइटिसबारे जागरुकता बढाउनका निम्ति हरेक वर्षझैँ यो वर्ष पनि आज जुलाई २८ मा हेपाटाइटिस दिवस मनाइँदै आएको छ  । यस वर्ष “इलिमिनेट हेपाटाइटिस” अथवा “हेपाटाइटिस निर्मूल  गरौँ” भन्ने नाराका साथ विश्वभर विश्व हेपाटाइटिस दिवस मनाइने भएको छ ।

आज भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरु एक जुट हुने दिन हो । भाइरल हेपाटाइटिसले आज युगकै सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रुपमा विकराल रुप लिँदै गएको पाइन्छ ।

विश्व स्वास्थ्य संस्थाको तथ्यांकलाई हेर्ने हो भने, संसारभरका ३२,५०,००,००० मानिसहरु भाइरल हेपाटाइटिस बी र सी बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्यांकले देखाउने गरेको भेटिन्छ ।

संसारबाट यस्तो अनभिज्ञता र अज्ञानता हटाउनको लागि नै आजको दिन विश्व हेपाटाइटिस दिवस मनाउन थालिएको हो । सन् २००७ मा विश्व हेपाटाइटिस संघको स्थापना भएर सन् २००८ देखि मात्र पहिलो समुदायमुखी विश्व हेपाटाइटिस दिवस मनाउँदै आएको ईतिहास छ ।  हामीमध्ये कति जनालाई यो रोगबारे थाहा छ त ? एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरुलाई मृत्युको शिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३,००,००० मानिसहरुको मृत्यु हुने गर्दछ ।