समाचार

श्रम मन्त्री विष्टको अर्को निर्णय : इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा



साउन १४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरेका छन् ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री विष्ट र महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धता ब्यक्त गरेका हुन् । उक्त कार्यक्रममा मन्त्री विष्टले बालश्रम सभ्यता, मानवीयता र न्यायको दृष्टिले कलंक रहेको बताउँदै २०८५ सालसम्म हरेक क्षेत्रको बालश्रम अन्त्य गर्न व्यवस्थित कार्ययोजना बनाएर कार्यान्वयन गरिने बताए । मन्त्री विष्टले भने “यस घोषणाले बाल श्रममुक्त देश घोषणा गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ, यो घोषणा ज्यादै महत्वपूर्ण र सम्मानयोग्य छ, सम्मानित देश, सभ्य देश, कलंकरहित देश घोषणा गर्न कोशेढुंगा सावित हुनेछ ।” मन्त्री विष्टले देशभरका इँटा उद्योगमा बालश्रमको अन्त्य भएको यस घोषणसँगै अब अन्य जोखिमयुक्त क्षेत्रमा रहेका बालश्रम उन्मूलन गरिने बताए ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपालबाट सबै प्रकारका बालश्रम पूर्णरुपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने उद्देश्यसहित बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) लागू गरिएको  बताए । उनले चालू आवभित्र २५ नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिने जानकारी दिँदै होटल, कलकारखाना, इँटाभट्टालगायत क्षेत्रबाट बालश्रमिकको खोजी गरी जोखिममा परेका बालबालिकालाई पुनःस्थापना गरिने बताए ।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इँटा उद्योगमा बालश्रमिकको प्रयोग हुँदा उद्योगको छवि नै बिग्रने भएकाले इँटा उद्योगमा बालश्रमिकको प्रयोगलाई न्यूनीकरण गर्न जरुरी रहेको धारणा व्यक्त गरे । त्यस्तै इँटा उद्योगमा कार्यरत मजदुरसँग आश्रित बालबालिकालाई इँटा उद्योगमै दिवा स्याहार केन्द्र स्थापना गरेर आधारभूत शिक्षा प्रदान गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो ।