Banner News

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रिय हुने : अध्यक्ष प्रचण्ड



साउन १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुने बताएका छन ।

कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनको उद्घाटनको  अवसरमा अध्यक्ष प्रचण्डले आपसी सम्बन्ध खुल्ला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउन आफूहरुले प्रयत्न गरिरहेको बताए ।

 उनले भने “नेपाली गरिबीको अवस्था लामो समयसम्म रहिरहन सक्दैन । छिमेकीले विकास गरिरहँदा हामी पछि पर्न सक्दैनौँ । भारतसँगको समझदारीअनुसार रेल र जलमार्ग हुँदै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न आवश्यक छ ।”

समान सार्वभौमसत्ता र साझा स्वार्थका आधारमा आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले सिर्जना गरेको ताजा विश्वासलाई समेत आधार मानेर सहकार्य र सम्बन्धलाई गाढा बनाउन जोड दिएका हुन् ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दुई देशका प्रधानमन्त्री तहमा पछिल्लो समयमा भएको भ्रमण आदानप्रदानले सम्बन्ध सुध्रिएको बताउँदै दुई देशले गठन गरेको प्रबुद्ध वर्ग समूहले आपसी सम्बन्धलाई नयाँ इतिहासमा लाने गरी प्रतिवेदन दिने उल्लेख गरेका छन् ।

भारतीय जनता पार्टीका महासचिव श्रीराम माधवले दुई देशबीच संस्कृति, सम्पर्क सञ्जाल र वाणिज्यलगायतका क्षेत्रमा नजिकको जनाउँदै नेपालको बहुमतको स्थिर सरकारले लोकतन्त्रलाई सफल बनाउने अपेक्षा व्यक्त  गरेका छन्  ।