राजनीति

प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति प्रतिवद्ध : प्रम ओली



साउन २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा लोकतन्त्रको जन्मदाता भएकाले वर्तमान सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कैयौँ नेता, कार्यकर्ता सहिद भएकाले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने स्पष्ट पारे ।

सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन सञ्चारमाध्यमको ठूलो भूमिका हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले लेखिएका विषय २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्ने बताउँदै केही सञ्चारमाध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकामा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे ।