समाचार

नुवाकोटको विभिन्न स्थानमा पहिरोले १० घर बगायो



भदौ ३, नुवाकोट । नुवाकोट जिल्लाका  विभिन्न ठाउमा शुक्रबार रातिको बाढीपहिरोका कारण विभिन्न स्थानका  १० घर बगाएको छ ।

सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर बागाउदा घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद रु ८५ हजार क्षति भएको छ ।

सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धानसमेत बगाउँदा रु एक लाख मूल्य बराबरको क्षति भएको छ भने जितबहादुर तामाङ आठ रोपनी खेत, रुद्रबहादुर तामाङको तीन रोपनी, कृष्णबहादुर तामाङको तीन रोपनी, नुरबतासीबहादुर तामाङको तीन रोपनी खेतसमेत खोलाले बगाएर बगर बनाएको प्रहरीले जनाएको छ ।

यस्तै बेलकोटगढी नपा–११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको दुई घर र घरमा रहेको किराना पसल, मासुपसलसमेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको छ भने तादी गाउँपालिका–६ आलडाँडाँका डोरबहादुर तामाङकोे दुई वटा र मुकेश तामाङको एउटा घर पहिरोले बगाएको छ ।

 यस्तै शुक्रबार राति नै विदुर नपा–२ पाटीपानीका अर्जुन कसाइका घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ ।