राजनीति

विप्लपलाई अर्को झड्का : प्रकाण्डलाई अनुसन्धानका लागि तीन दिन म्याद थप



भदौ ४, काभ्रे । नेकपा (विप्लप) समुहका प्रवक्ता तथा पूर्व मन्त्री खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आवश्यक अनुसन्धानका लागि आइतबार तीन दिनको म्याद थप गरीएको छ ।

प्रवक्ता प्रकाण्डलाई प्रहरीले संगठित अपराधमा संलग्न रहेको तथा २०७५ बैशाख १ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका – ६ चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनीमा संलग्न रहेको पाइएका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलले आजसम्मका लागि म्याद थप गरेको छ भने प्रहरीले भोली पुनः म्याद थप गरिने बताएको छ । यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यद्वय वीरेन्द्रनगर नगरपालिका – २० का कृष्ण धमला (गम्भीर) र धादिङ जिल्ला नीलकण्ठ नगरपालिका – ३ का मोहन कार्की (जीवन्त)लाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।