भदौ ४, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले कालिमाटी फलफुल तथा तरकारी बजार कालिमाटीको अनुगमनको क्रममा उपभोक्तालाई ठगेको पाइएमा कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
सोमवार अनुगमनको क्रममा मन्त्री यादवले उपभोक्तालाई ठग्ने काम समितिका जिम्मेवार पदाधिकारीबाटै हुने गरेको भन्दै उनीहरुलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।
मन्त्री यादवले समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई ‘तरकारी बजार अनुगमनको काम नगरेर भन्दै कडा रुपमा आक्रोस व्यक्त गरेका छन् । उनले बजार समितिका पदाधिकारीहरुले बिचौलियासँग मिलेर उपभोक्ता मारमा पार्ने काम गरेको भन्दै कार्यकारी निर्देशक पौडेललाई विलविजक बिना नै जथाभावी रुपमा तरकारी आयात गर्नेलाई तत्काल कानुनी उपचार गर्न निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा बिहान तरकारी अनुगमनको लागि पुगेको सरकारी टोलीलाई विचौलिया र व्यापारीहरुले बजार विकास समितिको भवनमा थुनेका थिए । त्यसलगत्तै बाक्लो मात्रामा प्रहरी परिचालन गरिएपछि मात्रै व्यापारीले अनुगमन टोलीलाई बाहिर निस्कन दिएका थिए ।
अनुगमनको क्रममा बिलविजक नभएका दुई वटा ट्रकलाई नियन्त्रणमा लिइएको छ । अनुगमनकर्तालाई धम्की दिने दुई जना व्यापारीलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया पनि सुरु गरिएको छ । अनुगमन टोलीलाई धम्क्याउने विचौलियाको नेतृत्व गर्ने कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडासहित २ जना पक्राउ परेका हुन ।










प्रतिक्रिया दिनुहोस्